खेल

आर्मीलाई केपिएल उपाधि

उपाधिका साथ त्रिभुवन आर्मीका खेलाडी। तस्बिर: नागरिक नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत - विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो पटक कर्णाली प्रिमियर लिग (केपिएल) को उपाधिमाथि कब्जा जमाएको छ। शनिबार वीरेन्द्रनगरको कालिन्चोक मैदानमा सम्पन्न फाइनल खेलमा आर्मीले न्यु होराइजन बुटवललाई ५९ रनले पराजित ग-यो। जितसँगै आर्मीले पाँच लाख रुपैयाँ हात पा-यो।

उपविजेता न्यु होराइजनले दुई लाखमा चित्त बुझायो।फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको आर्मीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो। आर्मीका लागि हरिबहादुर चौहानले सर्वाधिक ५६ रन बनाए। उनले सात चौका प्रहार गरेका थिए। ओपनर राजु रिजालले ३४ रन बनाए। अनआउट हुनुअघि राजुले ३६ बलमा एक चौका र दुई छक्का प्रहार गरेका थिए। आठौं नम्बरमा ब्याटिङ गर्न आएका भीम सार्कीले विस्फोटक ब्याटिङ गरे। सात बलको सामना गरेका उनले तीन छक्कासहित २१ रन बनाए। न्यु होराइजनका विकास श्रेष्ठले दुई तथा राहुल प्रजापति, विपिन खत्री र अखिलेश यादवले समान १/१ विकेट लिए।

एक सय ४७ रनको लक्ष्य पछ्याएको न्यु होराइजन १८.३ ओभरमा ८७ रनमै समेटियो। माथिल्लो क्रममा ब्याट्म्यान चल्न नसक्दा न्यु होराइजन सस्तैमा समेटियो। ओपनर सुनील धमलाले ११ रन बनाउँदा अर्का ओपनर सुवेन्दु पाण्डे शून्यमा आउट भए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका अखिलेश यादव दुई रनमै आउट भए भने निश्चल चौधरीले १९ रन बनाए। सातौं नम्बरमा ब्याटिङ गर्न आएका विशाल सुनारले सर्वाधिक २६ बनाए। न्यु होराइजनलाई सस्तैमा रोक्न आर्मीका जितेन्द्र मुखिया र शाहब आलमले समान ३ विकेट लिए भने सुशन भारीले दुई विकेट लिए।
कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वैशाख १२ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको

थियो। प्रतियोगिताको उत्कृष्ट खेलाडी न्यु होराइजनका कप्तानसमेत रहेका शक्ति गौचन घोषित भए। उनले ५० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उत्कृष्ट ब्याट्सम्यान कर्णाली–११ का रवीन्द्रजंग शाही तथा उत्कृष्ट बलर आर्मीका सुशन भारी घोषित भए। दुवैले जनही २०/२० हजार रुपियाँ प्राप्त गरे।

प्रकाशित: २२ वैशाख २०७६ ०१:५५ आइतबार

त्रिभुवन_आर्मी_क्लब कर्णाली_प्रिमियर_लिग उपाधि