खेल

एपिएफका खेलाडी सम्मानित

काठमाडौं – अन्नपूर्ण होटल दरवारमार्गले एपिएफका महिला भलिबल खेलाडीलाई सम्मान गरेको छ। एपिएफका खेलाडीलाई शुक्रबार अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत राजुविक्रम शाहले सम्मान गरेका हुन्।

‘खेलाडी राष्ट्रका गौैरव हुन्,’ अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत शाहले भने,‘त्यसैले सबै क्षेत्रबाट खेल विकासका लागि सहयोग आवश्यक छ। हाम्रो संस्था पनि राष्ट्रिय खेल भलिबलको विकास विस्तारका लागि हातेमालो गर्न सदैव तयार छ।’
नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले खेलाडीको सम्मान नै राष्ट्र प्रतिको सम्मान हो भन्ने ठानेका बताए।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न पाँचौं केएनपी खुला महिला भलिबल प्रतियोगिताको विजेता टोलीलाई एपिएफलाई अन्नपूर्ण होटलले सम्मान तथा लन्चको आयोजना गरेको हो।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तानसमेत रहेकी एपिएफकी कप्तान विनिता बुढाथोकीले खेलाडीलाई यस प्रकारको सम्मानले उत्साहित बनाउने बताइन्। एपिएफकै खेलाडी रेश्मा भण्डारीले पनि विभिन्न क्षेत्रको प्रोत्साहनले खेलाडीहरूमा उत्साह बढाउने थपिन्। ‘हाम्रो लागि पहिलो अवसर हो,’ रेश्माले भनिन्,‘त्यसैले हामी उत्साहित पनि छौं। यसरी खेलप्रति पाँचतारे होटलको पनि सहयोगले समग्र खेलमै नयाँ उर्जा थपिनेछ।’

 

प्रकाशित: २१ वैशाख २०७६ ०१:३१ शनिबार

एपिएफ अन्नपूर्ण_होटल राजुविक्रम_शाह