खेल

च्यासलको जितमा मिलन नायक

काठमाडौं - वीरगन्ज युनाइटेडलाई २–० ले पराजित गर्दै ‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लब राजधानीमा जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

चन्द्रागिरि नैकापस्थित नैकाप फुटबल मैदानमा बुधबार भएको अन्तिम  क्वार्टरफाइनल खेलमा च्यासललाई जितमा मिलन राईको दुई गोल निर्णायक बन्यो। ‘ए’ डिभिजन क्लब च्यासलले वीरगन्जाथि सुरुदेखि नै आक्रमण बुने पनि गोलका लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो।

४५औं मिनेटमा मिलन राईले गोल गर्दै च्यासललाई सुरुआती अग्रता दिलाए। विदेशी खेलाडी जुनियरको पासमा अनमार्क रहेका मिलनले सहजै गोल गरेका थिए। ७४औं मिनेटमा मिलनले गोल गर्दै टोलीलाई २–० को जित दिलाए। त्यसअघि खेलभर नै वीरगन्जलाई दबाबमा राखेको च्यासलले खेलको १२औं मिनेटमा आक्रमण बुनेका थियो।

छिरिङ गुरुङको क्रसमा अर्मान्डले बक्सभित्र पाएको अवसरलाई नियन्त्रणमा लिन नसक्दा अग्रता लिने सुन्दर मौका खेर फाल्यो। १४औं मिनेटमा कप्तान अमिर श्रेष्ठको प्रहार पोस्टबाट बाहिरियो। लगत्तै छिरिङको शक्तिशाली प्रहार पोस्टबाट थोरै बाहिरिँदा च्यासल अग्रता लिनबाट चुक्यो। १६औं मिनेटमा अर्मान्डको अर्काे मौका खेर गयो।

२३औं मिनेटमा नियाको प्रहारले पोस्टको गति लिन सकेन। ४०औं मिनेटमा कप्तान अमिर श्रेष्ठको क्रसमा अर्मान्डको बक्सभित्रको हेडरले पोस्टको दिशा लिन सकेन। ५३औं मिनेटमा अमिरको वान टच प्रहार पोस्टबाट थोरै बाहिरियो। ५४औं मिनेटमा नियाको पासमा अर्मान्डले खाली पोस्टमा गोल गर्न सकेनन्।

५५औं मिनेटमा अमिरको हेडर पोस्टबाट थोरै बाहिरियो। खेलभर नै दबाब झेलेको वीगन्जले पहिलो हाफमा एक मात्र मौका सिर्जना गरेको थियो।  सविर चौधरीको कर्नरमा सञ्जय चौधरीको हेडर पोस्टबाट थोरै बाहिरिँदा खेलमा अग्रता लिने मौका गुमाएको थियो। त्यसबाहेक वीरगन्जले खेलभर कुनै उल्लेख्य मुभ बनाउन सकेन।

दुई गोल गरेका च्यासलका मिलन राई खेलको म्यान अफ दी म्याच घोषित भए। उनले ५ हजार रुपैयाँ पाए। यससँगै दोस्रो संस्करणको चन्द्रागिरि गोल्डकपको सेमिफाइनल समीकरण पूरा  भएको छ। अब सेमिफाइनलमा जावलाखेल र सरस्वती युवा क्लब तथा नेपाल एपीएफ क्लब  र भ्याली च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

पहिलो सेमिफाइनल बिहीबार जावलाखेल युथ क्लब र सरस्वती युवा क्लबबीच ३ बजेपछि नैकाप फुटबल मैदानमा हुनेछ। प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित: १९ वैशाख २०७६ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App