खेल

वर्षामा नयाँ नियम आवश्यकः पोलाक

बैंगलोर – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरको खेल वर्षाका कारण रद्द भएसँगै दक्षिण अफ्रिकाका पूर्वकप्तान सन पोलाकले यसका लागि नयाँ नियम ल्याउनुपर्नेमा जोड दिएका छन्।

राजस्थान र बैंगलोर दुवै टोलीका लागि प्लेअफ सम्भावना जीवित राख्न मंगलबारको खेल जित्नैपर्ने दबाब थियो। लगातार तीन घण्टा वर्षाका कारण खेल निर्धारित समयमा हुन सकेको थिएन। केही समयका लागि वर्षा रोकिएसँगै खेल ५ ओभरमा घटाइएको थियो। जहाँ बैंगलोरले जितका लागि राजस्थानलाई ६३ रनको लक्ष्य दिएको थियो। राजस्थानले ३.२ ओभरमा १ विकेट बनाएर ४१ रन बनाउँदै खेल्दा पुनः वर्षा सुरु भएपछि खेल रद्द गर्दै दुवै टोली समान १ अंक बाँड्न बाध्य भएका थिए।

राजस्थानका सन्जु स्यामसन र लियाम लिभिङस्टोनले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए। स्यामसनले १३ बलमा २ चौका र ३ छक्काको मद्दतमा २८ र लिभिङस्टोनले ७ बलको सामना गर्दै १ चौका र १ छक्काको मद्दतमा १३ रन जोडे।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले कप्तान विराट कोहलीको आक्रामक ब्याटिङमा निर्धारित ५ ओभरमा ७ विकेट गुमाउँदै ६२ रनको योगफल तयार पारेको थियो। कोहलीको आक्रामक ब्याटिङमा बैंगलोरले १.३ ओभरमा ३५ रन जोडेको थियो। तर दोस्रो ओभरको अन्तिम ३ बलमा श्रेयस गोपालले ह्याट्रिक पूरा गरेपछि राजस्थानले रन गतिमा ब्रेक लगाएको थियो।

चौथो बलमा कोहलीलाई लिभिङस्टोनबाट क्याच गराएका गोपालले पाँचौं बलमा एबी डी भिलियर्सलाई रेयान पराग र अन्तिम बलमा मार्कुस स्टोनिसलाई कप्तान स्टिभ स्मिथबाट क्याच गराएका थिए। दक्षिण अफ्रिकाका पूर्वकप्तान पोलाकले मौसम पूर्वानुमानको रिपोर्टका आधारमा खेलको तालिका बनाउनुपर्नेमा जोड दिए।

‘कुनै कारणले खेलमा बाधा पुग्ने संकेत देखिएमा खेल निर्धारित समयभन्दा केही अघि सुरु गर्ने नियम ल्याउन आवश्यक छ,’ पोलाकले भने। हालसम्म आइपिएलको उपाधि जित्न नसकेको बैंगलोरले १३ खेलमा ९ अंक जोडेको छ र टोली अंकतालिकाको अन्तिम स्थानमा छ। यससँगै टोली जारी आइपिएलबाट समेत बाहिरिएको छ।

१२ खेल खेल्दै समान १६ अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा बसेका दिल्ली क्यापिटल्स र चेन्नाई सुपरकिङ्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्। त्यस्तै मुम्बई इन्डियन्स १४ र सनराइजर्स हैदराबाद १२ अंकका साथ तेस्रो र चौथो स्थानमा छन्। राजस्थान रोयल्स ११ अंक जोड्दै पाँचाैं, कोलकाता नाइट राइडर्स र किङ्स इलेभेन पन्जाब क्रमशः छैटाैं र साताैं स्थानमा छन्।

प्रकाशित: १९ वैशाख २०७६ ०२:३१ बिहीबार

आइपिएल राजस्थान_रोयल्स रोयल_च्यालेन्जर्स_बैंगलोर