खेल

आइपीएलमा विराटकाे टिम विरूद्ध सन्दीप खेल्दै

नयाँ दिल्ली– आइपीएलको आजको पहिलो खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर आमनेसामने हुँदैछन्। दिल्लीले टस जितेर व्याटिङ राेजेकाे छ।

दिल्लीको गृहमैदान फिरोज शाह कोट्ला मैदानमा हुने खेलमा दिल्लीले सन्दीपलाई उतार्ने भएको छ। यो सिजनमा ५ खेलमा ८ विकेट लिएका उनले गृहमैदानमा भएका अधिकांस खेलहरु खेल्दै आएका छन्।

दिल्ली आफुलाई प्लेअपमा सुरक्षित गर्ने लक्ष्यका साथ उत्रने छ भने बेङ्गलोर पनि जीत निकाल्दै प्लेअपको यात्रालाई कायमै राख्न चाहन्छ। दुबै टिमले समान ११ खेल खेलेका छन्। जसमा दिल्ली ७ जित र ४ हार सहित अंकतालिकाको तेस्रो स्थानमा छ। त्यस्तै सुरुवाती खेलहरुमा कमजोर प्रदर्शन गरेको बेङलोर ४ जित र ७ हार सहित अंकतालिकाको पुछारमा रहेको छ। खेल अपरान्ह ४ः१५ बजे सुरु हुने छ।

दिल्ली र बेङ्गलोरबीच भएका पछिल्ला ५ खेललाई हेर्ने हो भने दिल्लीले अन्तिम १ खेल जितेको छ भने बाँकी ४ खेल बेङ्गलोरको पक्षमा गएको छ।

जारी आइपीएलमा १२ खेलमा ८ जित र ४ हार ब्यहोर्दै चेन्नइ सुपर किंग्स शीर्ष स्थानमा रहेको छ भने ११ खेलमा ७ जीत र ४ हारसँगै १४ अंक बनाएर मुम्बइ इण्डियन्स दोश्रो स्थानमा छ। समान १४ अंक बनाएको दिल्ली रनरेटमा पछि पर्दै तेस्रो स्थानमा रहेको छ। त्यस्तै, सनराइजर्स हैदराबाद, किंग्स ११ पञ्जाब, राजस्थान रोयल्स, कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जरर्स बेङ्लोर क्रमश चौथो, पाँचौं, छैटौं, सार्तौ र आठौं स्थानमा छन्।

प्रकाशित: १५ वैशाख २०७६ १०:१४ आइतबार

सन्दीप_लामिछाने दिल्ली_क्यापिटल्स अाइपीएल