खेल

लालीगुराँस सात विकेटले पराजित

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी वाईवाई कर्णाली प्रिमियर लिग–२ अन्तर्गत आइतबारको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लवले लालीगुराँस क्रिकेट एकेडेमीलाई सात विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको लालीगुराँसले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनायो। लालीगुराँसका लागि प्रकाश पटेलले ३० तथा धनुष थापाले १८ रन बनाए। लालीगुराँसलाई सस्तैमा समेट्ने क्रममा मध्यपश्चिमका आकाश बिष्ट र अजय साहनीले ३–३ विकेट लिए।

एक सय १२ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लवले ३ विकेट गुमाएर १६.१ ओभरै पूरा गर्‍यो। मध्पश्चिमका शैलेन्द्र यादवले अविजित ५३ तथा बिशाल गुप्ताले अविजित ४५ र बनाए। शैलेन्द्रले ३५ बलमा नौ चौका र एक छक्का तथा बिशालले ४३ बलमा पाँच चौका प्रहार गरे।

समूह ‘ए’ अन्तर्गत प्रतियोगितामा दोश्रो खेल खेल्दा मध्यपश्चिमको पहिलो जीत हो। लालीगुराँसले भने तीन वटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ। समूहको शिर्ष स्थानमा रहेको कर्णाली–११ ले दुई वटै खेल जितेको छ भने त्रिभूवन आर्मीले एक खेलमा विजयी भएको छ।

 

प्रकाशित: १५ वैशाख २०७६ ०७:०८ आइतबार

कर्णाली क्रिकेट लिग