खेल

एकदिवसीय क्रिकेटमा महिला अम्पायर

विन्डोहक – अस्ट्रेलियाकी क्लेयरे पोलोसक पुरुषको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलाउने पहिलो महिला अम्पायर बनेकी छन्। नामिबायास्थित विन्डोहकको वन्डरर्स क्रिकेट ग्राउन्डमा शनिबार भएको डिभिजन–२ को फाइनलमा आयोजक राष्ट्र नामबिया र ओमनबीचको खेल खेलाएकी पोलोसक पुरुष एकदिवसीय क्रिकेटकी पहिलो महिला अम्पायर बनेकी हुन्। ३१ वर्षीया पोलोसकले घरेलु क्रिकेट भने सन् २०१७ को अक्टोबरमा खेलाएकी थिइन्।

पोलोसकले पुरुष क्रिकेटमा महिला अम्पायरको सहभागिता हुन नसक्नुको कारण थाहा नभएको बताउँदै आफूबाट सबैलाई उत्साह पुग्ने विश्वास व्यक्त गरिन्। पोलोसकले महिलातर्पm भने १५ एकदिवसीय क्रिकेट खेलाइसकेकी छिन्। उनले सन् २०१८ मा महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको सेमिफाइनल पनि अम्पायरिङ गरेकी थिइन्।

पोलोसक र इलोइज सेरिडन व्यवसायिक क्रिकेटमा अम्पायरिङ गर्ने पहिलो महिलासमेत हुन्। यी दुईले गत वर्ष भएको वुमन बिगबास क्रिकेट लिगमा अम्पायरिङ गरेका थिए। पोलोसकले सन् २०१७ मा सिड्नीमा भएको न्यु साउथ वेल्स र क्रिकेट अस्ट्रेलिया–११ बीचको एकदिवसीय क्रिकेट खेलाएकी थिइन्।

खेलअघि उनले महिला अम्पायरको आत्मबल बढाउन आवश्यक रहेको बताउँदै अब महिला अम्पायरमा पनि गर्न सक्छौं भन्ने साहस बढ्ने विश्वास व्यक्त गरिन्। आइसिसीका सिनियर अम्पायर एड्रियन ग्रिफिथले पोलोसकलाई बधाई दिँदै अभैm महिला अम्पायरहरू पुरुष क्रिकेट खेलाउन आउनुपर्ने बताए।

उक्त डिभिजन–२ को खेल समाप्तिपछि नामिबिया र ओमनले पनि एकदिवसीय राष्ट्रको मान्यता पाउनेछन्। डिभिजन–२ को शीर्ष दुई स्थानमा बनाएकाले यी दुई राष्ट्रले एकदिवसीय राष्ट्रको मान्यता पाएका हुन्। डिभिजन–२ को उपाधि भने आयोजक नामिबियाले जित्यो। शनिबार भएको फाइनलमा नामिबियाले ओमनमाथि १ सय ४५ रनको जित निकाल्दै उपाधि घरमै सुरक्षित गरेको हो।

प्रकाशित: १५ वैशाख २०७६ ०३:०१ आइतबार

क्लेयरे_पोलोसक क्रिकेट अम्पायर