खेल

आर्मीको विजयी सुरुआत

काठमाडौं – साबिकको विजेता गोल्डेन गेटलाई उसैको कोर्टमा पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले शनिबारबाट सुरु भएको दोस्रो संस्करणको क्विक्स नेपाल बास्केटबल लिगमा विजयी सुरुआत गरेको छ।

शनिबारै सम्पन्न अर्को खेलमा टाइम्स इन्टरनेसनल कलेजले पनि अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो। गत वर्ष फाइनलमा भोगेको पराजयको बदला यस सिजनको पहिलो खेलमै लिने क्रममा गोल्डेनगेटलाई आर्मीले बत्तीसपुतलीस्थित उसैको कोर्टमा १०४–६९ को स्कोरले हराएको हो। पहिलो क्वार्टरबाट नै दबाबमा राखेको आर्मीले सबै क्वार्टरमा जित निकाल्न सफल भयो। २६–१४ को जित निकालेको आर्मीले दोस्रो क्वार्टर २६–१७, २५–१४ र २७–२३ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो। खेलमा सर्वाधिक १७ अंक स्कोर गरेका रामकृष्ण घताने मोस्ट भ्यालुएबल प्लेअर घोषित भए।

यस्तै, लिगअन्तर्गत शनिबारै सम्पन्न अर्को खेलमा पुलिसलाई हराउन टाइम्सले ९६–६१ को स्कोर निकाल्यो। पहिलो क्वार्टरमा १८–१३ को नतिजा निकालेको टाइम्सले दोस्रो क्वार्टरमा २६–२२, तेस्रो क्वार्टरमा ३०–२ र निर्णायक क्वार्टरमा २२–१६ को स्कोर गर्दै जित सुनिश्चित गरेको थियो।

टाइम्सलाई जित दिलाउने क्रममा राष्ट्रिय टोलीका कप्तान सदीश प्रधानले सर्वाधिक ४२ अंक स्कोर गरे। प्रतियोगितामा ८ टोलीको सहभागिता छ। होम एन्ड अवेका आधारमा हुने लिग डबल राउन्ड रोबिन प्रणालीमा हुँदै छ।

प्रकाशित: १५ वैशाख २०७६ ०२:५२ आइतबार

गोल्डेन_गेट त्रिभुवन_आर्मी_क्लब क्विक्स_नेपाल_बास्केटबल_लिग