खेल

आयोजकको लगातार दोस्रो जित

सुर्खेत – मध्यपश्चिम क्रिकेट क्लबलाई ३१ रनले पराजित गरेको आयोजक कर्णाली ११ ले सुर्खेतमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ।

प्रतियोगिताको उद्घाटन खेलमा झापाको लालीगुराँस क्लबमाथि ८ विकेटको फराकिलो जित निकालेको आयोजक कर्णाली–११ लगातार दोस्रो जितसँगैै प्रतियोगिताको सेमिफाइनल पुगेको छ।

टस जितेर ब्याटिङ गरेको कर्णाली–११ ले निर्धारित २० ओभरको समाप्तिमा ४ विकेट गुमाएर दिएको १ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा मध्यपश्चिमले २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर मात्र १ सय १७ रन जोड्न सक्यो।
कर्णालीका लागि कप्तान रवीन्द्रजंग शाहीले नटआउट ६१ रनको व्यक्तिगत स्कोर बनाएका थिए। ५६ बलको सामना गरेका शाहीले ६ चौका प्रहार गरेका थिए। यस्तै कृष्ण कार्कीले आक्रामक इनिङ खेल्दै नटआउट ४६ रन बनाए। २७ बलको सामना गरेका कार्कीले ४ चौका र २ छक्का प्रहार गर्दै टोलीको स्कोर सम्मानजनक स्थितिमा पु-याएका थिए। ७९ रनमा ४ विकेट गुमेपछि रवीन्द्र र कृष्णले पाँचाैं विकेटका लागि ६९ रनको साझेदारी गर्दै आयोजक टोलीको इनिङलाई उकासेका थिए।

बलिङतर्फ मध्यपश्चिमका लागि तुल्सीराम अहिनले २ तथा अमित तामाङ र अजय सहनीले समान १÷१ विकेट लिए।
जाबाफी ब्याटिङ गरेको मध्यपश्चिमका लागि शैलेन्द्र यादवले सर्वाधिक ३१ रनको पारी खेले पनि टोलीको हारलाई जोगाउन सकेनन्। यस्तै राजवीर सिंहले ३० तथा आकाश विष्टले २३ रन बनाए पनि जितका लागि त्यो पर्याप्त भएन। मध्यपश्चिमलाई सस्तैमा समेट्न कर्णाली–११ का लागि कृष्ण कार्कीले सर्वाधिक तीन तथा किशोर महतोले दुई  विकेट लिए। कसिलो बलिङ गरेका कृष्णले ४ ओभरमा १ मेडन ओभरसहित ११ रन मात्र खर्चिएका थिए भने जितेन्द्रसिंह ठकुरी र ललित प्याकुरेलले समान एक/एक विकेट हात पारे।

यस्तै लिगअन्तर्गत शनिबारै सम्पन्न अर्को खेलमा विभागीय टोली एपिएफले हिमालयन क्रिकेट एकेडेमीलाई ८४ रनले पराजित गरेको छ। खेलमा टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरको समाप्तिमा दुई विकेट गुमाएर दिएको १ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा हिमालयन क्रिकेट एकेडेमीले  १  सय ८ रन मात्रै बनाउन सक्यो।
टस जितेर पहिला ब्याटिङ गरेको एपिएफका लागि कप्तान शरद भेषावकरले ५१ रनको पारी खेल्दा अनिल शाह हेमन्त धामीको बलमा क्याच  भए।

जबाफी ब्याटिङ गरेको हिमालयनका लागि पवन कार्कीले सर्वाधिक २४ रनको इनिङ खेल्दा सुरेन्द्र चन्दले १४ तथा पदम केसीले १३ रनको व्यक्तिगत स्कोर बनाउन सके भने अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।
हिमालयनलाई सस्तोमा समेट्न एपिएफका लागि शरद् भेषावकरले ४ विकेट तथा भुवन कार्की, पुरन विक र सन्दीप जोराले समान २÷२ विकेट हात पारे।

प्रतियोगिताअन्तर्गत आइतबार दुई खेल हुनेछन्। पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लबले लालीगुराँसको सामना गर्दा  दोस्रो खेल एपिएफ र न्यु होराइजनबीच हुनेछ।

मध्यपश्चिमलाई सस्तैमा समेट्न कर्णाली–११ का लागि कृष्ण कार्कीले सर्वाधिक तीन तथा किशोर महतोले दुई  विकेट लिए।

प्रकाशित: १५ वैशाख २०७६ ०२:४५ आइतबार

मध्यपश्चिम_क्रिकेट_क्लब कर्णाली कर्णाली_प्रिमियर_लिग