खेल

नेपालद्वारा मलेसिया पराजित

काठमाडौँ– थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ।

थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो। नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा म्यान्मारलाई सात विकेटले पराजित गरेको थियो। जितसँगै समूह ए मा रहेको नेपालले दुई खेलबाट चार अङ्क जोडेको छ। नेपाल साविक विजेतासमेत हो।

अघिल्लो संस्करणको खेलमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि हासिल गरेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेसियालाई जितका लािग १४२ रनको लक्ष्य दिएको थियो। जवाफमा मलेशिया ३३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा समेटियो।

मलेसियाका लागि सार्भिन सुरेद्रनले सर्वाधिक ४६ रनको योगदान दिए भने अमहेद अस्यार्फले १७ तथा किशन कुमारले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन्। मलेसियालाई १०२ रनमा समेट्ने क्रममा नेपालका रमेश कुर्मी, तिलकराज भण्डारी र प्रशान्त महतले दुई/दुई विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १४१ रन जोडेको थियो। नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ३४ रनको योगदान दिए। त्यस्तै विशालविक्रम केसीले २८, दीपक बोहोरा र अर्जुन कुमालले समान १६/१६ र सुवास ऐरले ११ रन जोडे।

बलिङतर्फ मलेसियाका सिद्धार्थ कार्तिकले चार तथा लुकम्यान नुर हाकिम सहरले दुई विकेट झारे। नेपालले भोलि आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। रासस

प्रकाशित: ११ वैशाख २०७६ ०९:५४ बुधबार

एसिसी_यू_१६ पूर्वी_क्षेत्रीय_क्रिकेट नेपाल