खेल

करातेकी अनु मिस्लीसँग स्तब्ध

फोटो क्याप्सनः एपीएफकी अनु अधिकारी प्रदेश–२ की एलिसा तामाङविरुद्ध किक प्रहार गर्दै। तस्बिरः अनिल/नागरिक

दाङ – दक्षिण एसियाली खेलकुदमा रजत पदक विजेता अनु अधिकारीलाई हराउँदै त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठले जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेमा आइतबार स्वर्ण जितेकी छन्।

दाङको तुल्सीपुरस्थित कराते हलमा भएको कुमुतेको महिला ५० केजीको फाइनलमा एपिएफकी अनुलाई पराजित गर्दै मिस्लीले स्वर्ण जितेकी हुन्। चार पटकसम्म भिआरबाट अंक प्राप्त गरेकी मिस्लीले अनुलाई ६–४ को स्कोर हराउँदै सफलता प्राप्त गरिन्। सोही तौलमा प्रदेश–२ की एलिसा तामाङ र प्रदेश–३ की सविना श्रेष्ठले संयुक्त रूपमा कांस्य पदक जित्न सफल भए।

महिलाको ४५ केजीमुनि एपिएफकी जिया कार्कीले आर्मीकी कुसुम खड्कालाई हराउँदै स्वर्ण जित्दा प्रदेश–२ की मीरा योन्जन र सुदूरपश्चिमकी वर्षा साउदले कांस्य पदक जिते। प्रदेश–का विपिनराज सिंह र नेपाल पुलिस क्लबकी अनुपमा मगरले  पनि कुमुतेमा स्वर्ण जितेका छन्।

आइतबार भएको पुरुष ८४ केजी तौल स्मूहमा विपिनले प्रदेश–१ का सागर राउतलाई पराजित गरे। प्रदेश–२ का सृजेश श्रेष्ठ र सुदूरपश्चिमका सागर शाहीले कांस्य जिते। यसैगरी महिलाको ६८ केजीमा अनुपमाले त्रिभुवन आर्मी क्लबकी रीता कार्कीलाई हराउँदै स्वर्ण जितिन्। एपिएफकी एरिका गुरुङ र एनआरएनएकी शान्ति अधिकारीले कांस्य जिते।

पुरुषको ५५ केजी तौल समूहमा प्रदेश–३ का विजय श्रेष्ठले स्वर्ण जिते। उनले फाइनलमा प्रदेश १ का विवेक थापालाई पराजित गरे। प्रदेश–२ का निदेशबहादुर घिसिङ र एपिएफका लक्ष्मण तामाङ तेस्रो भए। पुरुषकै ५० केजीमा पुलिसका सोनाम लामाले एपिएफका वीरबहादुर तामाङलाई हराउँदै स्वर्ण जित्दा प्रदेश–३ का साजन मोक्तान र आर्मीका शिव खत्रीले कांस्यमा चित्त बुझाए।

प्रकाशित: ९ वैशाख २०७६ ०२:२५ सोमबार

खेलकुद त्रिभुवन_आर्मी आठौं_राष्ट्रिय_खेलकुद