बाँके - ‘प्रदेश नम्बर ५ जिम्न्यास्टिक, चेस नम्बर ०३२’ लेखिएको जर्सी संघर्ष गुप्ताको हो। अहिले उनी १० वर्षका भए। आठौं राष्ट्रिय खेलकुदमा सहभागी ५ हजार २ सय ११ खेलाडीमध्ये सबैभन्दा कान्छा खेलाडी हुन् संघर्ष।
नेपालगन्ज रानीतलाउनजिकै छ उनको घर। जहाँबाट आठौं राष्ट्रिय खेलकुद उद्घाटन भएको नेपालगन्ज रंगशाला करिब ५ सय मिटर दूरीमा छ। उनलाई कुन प्रतियोगिता खेलिरहेको छु भन्ने थाहा छैन। तर आफू जिम्न्यास्टिक खेलाडी हँु भन्ने थाहा छ। ५ महिनाअघि देखि खेल्न सुरु गरेका संघर्षले पहिलो पटक प्रतियोगिता खेल्ने अवसर पाए। पहिलो सहभागितामै राष्ट्रिय प्रतियोगिता खेल्ने मौका मिल्यो। आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १९औं जिम्न्यास्टिक राष्ट्रिय प्रतियोगिता नेपालगन्ज कारकादोमा भैरहेको छ। प्रतियोगिता भैरहेको हल पुग्दा उनी अभ्यास गरिरहेका थिए।
पछिल्लो साता संघर्षले कल्पना नगरेको कुरा अनुभव गरिरहेका छन्। जुन अवसर उनलाई घरनजिकै भएको राष्ट्रिय खेलकुदले जुराइदिएको हो। राष्ट्रिय खेलकुदमा भाग लिँदाको खुसी उनले यसरी बयान गरे, ‘मलाई रंगशालामा पटाका पट्काएको मन प¥यो। धेरैले डान्स गरेको राम्रो लाग्यो। टिममा भएका दिदीहरूले माया गर्नुहुन्छ। अनि गुरुले ट्रयाकसुट, टिसर्ट, जुत्ता, झोला दिनुभयो। घरमा गएर बुबालाई देखाएँ। खुसी हुनुभो।’
प्रतियोगितामा उनले फ्लोरिङ र हर्ष राइडिङमा भाग लिएका छन्। पहिलो पटक ठूलो म्याट, भोल्ट देखे उनले। उनले खेलिरहँदा प्रतियोगिताको नतिजा आएको थिएन। तर उनलाई यत्तिले पुगेको छैन। प्रतियोगिता सकिएपछि फेरि अभ्यास गरेर राम्रो खेलाडी बन्ने लक्ष्य छ। उनले बालापनमै एउटा अठोट गरिसकेका छन् भविष्यमा राम्रो खेलाडी बन्ने। र उनीजस्तै राम्रो खेलाडी बन्ने लक्ष्य लिएर करिब ५ हजार खेलाडीले अहिले प्रतिस्पर्धा गरिरहेका छन् ५ नम्बरका विभिन्न ठाउँमा।
नेपालगन्जका संघर्ष गुप्ताजस्तै प्रदेश नम्बर ३ की सौभाग्य कोजुको अनुभव पनि रोमाञ्चक छ। ११ वर्षे सौभाग्य महिलातर्फ आठांै राष्ट्रिय प्रतियोगिता खेल्ने कान्छी खेलाडीमा पर्छिन्। भक्तपुरकी शौभाग्यले फ्लोरिङ र भोल्टिङ टेबलमा भाग लगेकी छिन्। पहिलो पटक उनी काठमाडांैभन्दा बाहिर आएकी हुन्। ०१९ नम्बरको चेस लगाएकी सौभाग्य भन्छिन्, ‘म्याट मन प¥यो। एपिएफको दाइदिदीहरूलाई चिनें, प्रशिक्षकलाई चिनें, कत्ति धेरै खेलाडी आउने रहेछन् राष्ट्रिय खेलमा।’ बुबाआमाले उनलाई खाना खाएको र गर्मी कत्तिको छ भनेर सोधिरहनुहुन्छ। उनले भनिन्, ‘बुबाआमासँग कुरा भइरहन्छ। मैले यहाँ देखेको सबै कुरा भनें। उद्घाटनमा कत्ति रमाइलो भएको थियो। ठूलो रंगशालामा कत्ति धेरैको डान्स हेर्दा रमाइलो लाग्यो।’
सौभाग्यकी साथी रिजु रंजितले प्रतियोगिताकै दौरान शुक्रबार आफनो जन्मदिन मनाइन्। भक्तपुरबाट बुबाआमाले जन्मदिनको शुभकामना दिएपछि उनले आफनो जन्मदिन भएको थाहा पाएकी थिइन्। ११ वर्षे रिजुले खेलमै ध्यान भएकाले जन्मदिन बिर्सेको बताइन्। काठमाडौंबाट बसमा आउँदा उनलाई वाकवाक लागेको रहेछ। तर नेपालगन्ज आएपछि भने रमाइलो लागेको बताइन्। उनले भनिन्, ‘नेपालगन्जमा पनि कति ठूलो रंगशाला रहेछ। ठूलो हल रहेछ।’
वैशाख ५ देखि औपचारिक रूपमा उद्घाटन भएको आठौं राष्ट्रिय खेलकुद प्रदेश ५ को चार जिल्ला बर्दिया, बाँके, दाङ र रूपन्देहीमा भइरहेको छ। जहाँ ५ हजारभन्दा बढी खेलाडीले आफ्नो क्षमता देखाइरहेका छन्। स्थानीय स्तरबाट प्रतिभावान् खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर २०३८ सालदेखि राष्ट्रिय खेलकुद सुरु भएको हो। घरेलु खेलकुदको महाकुम्भ मानिने राष्ट्रिय खेलकुदले संघर्ष, सौभाग्य र रिजुजस्ता कलिला खेलाडीलाई आर्कषित गर्छ खेलमा लाग्न। प्रतियोगिता सकिएपछि उनीहरु तीनै जनाले बनाएको योजना उस्तै छ। पढाइमा ध्यान दिने अनि अलि राम्ररी अभ्यास गर्ने र पदक जित्ने। जिम्न्यास्टिकको म्याटमा देखेको उनीहरूको भविष्य खेलकुदको व्यवस्थापनमा आएर जोडिन्छ। व्यवस्थापन फितलो हुँदा हजारौं खेलाडीले कष्ट भोग्नुपर्छ। राज्यले खेल र खेलाडीको लागि भनेर प्रतियोगिता गर्छ।
तर उनीहरूले सोचेजस्तो सुविधा नपाएको गुनासो गर्छन् नेपाली जिम्न्यास्टिकका मुख्य प्रशिक्षक राजेश्वरमान स्थापित। ‘तपार्इंले देख्नुभो यहाँ कति ससाना खेलाडी आएका छन् खेल्न। तर उनीहरूले वर्षमा मुस्किलले एउटा प्रतियोगिता खेल्न पाउँछन्। त्यो पनि कहिले हुँदैन,’ उनले भने, ‘राज्यको आँखा गएको छैन जिम्न्यास्टिकमा। ओलम्पिकमा भएको खेललाई बेवास्ता गरिएको छ। जहाँ मेडल जित्ने सम्भावना छ त्यहीं राज्यले लगानी गर्दैन। वर्षमा १–२ लाख बजेट दिन्छ। त्यसले एउटा प्रतियोगिता गर्न कठिन छ।’ जिम्न्यास्टिकको म्याटमा देखेको उनीहरूको भविष्य खेलकुदको व्यवस्थापनमा आएर जोडिन्छ। व्यवस्थापन फितलो हुँदा हजारौं खेलाडीले कष्ट भोग्नुपर्छ।
प्रकाशित: ८ वैशाख २०७६ ०१:३२ आइतबार