खेल

राजर्षि जनक कपको उपाधि थ्रीस्टारले चुम्यो

सर्लाही– तेस्रो राजर्षि जनक कपको उपाधि रुस्लान थ्रिस्टारले चुमेको छ। शुक्रबार भएको फाइनल खेलमा सर्लाहीको बागमती नगरपालिका टिमलाई २–१ गोलले पराजित गर्दै थ्रीस्टारले यो वर्षको पहिलो क्याप भित्रयाएको हो। उपाधिसँगै थ्रिस्टारले राजर्षि रनिङ्ग शिल्ड एवं नगद १० लाख रुपैंया हात पारेको छ भने उपविजेता वागमतीले ५ लाख रुपैंयामै चित्त बुझाउनु परेको छ। 

अत्यन्त प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ६४ औँ मिनेटमा बागमतीका जर्सी नं. १४ का अफ्रिकन खेलाडी एकेने क्रिष्टियनले गोल गर्दै टिमलाई अग्रता दिलाए। गोलपोष्ट नजिकबाट क्रिस्टियनले प्रहार गरेको बलले थ्रिस्टारको जाली चुमेको थियो। 

त्यसको एक मिनेट वित्न नपाउँदै थ्रिस्टारले प्राप्त गरेको पेनाल्टी अवसर गोलमा परिणत हुँदा खेल बराबरीमा पुग्यो। बामगतीका रक्षकले थ्रीस्टारका खेलाडीलाई डिबक्सभित्र लडाएपछि फिफा रेफ्रि सुदिस पाण्डेले पेनाल्टी अवसर दिएका हुन्। थ्रिस्टारका जर्सी नं. २३ का रेजिन धिमालले गरेको पेनाल्टी प्रहारले सहजै बागमतीको जाली चुम्यो। 

मध्यान्तर अघि केही सुस्त देखिएको थ्रिस्टार मध्यान्तर पछि आक्रामक रुपमा प्रस्तुत भएको थयो। थ्रिस्टारका खेलाडीले एकपछि अर्को गोलपोष्ट आक्रमण गर्दा वागमतीका खेलाडीहरु निरिह जतिकै देखिएका थिए। निरन्तर आक्रमण व्यहोर्नु परिरहेको अवस्थामा बागमतीका खेलाडी सम्हालिन नसक्दा थ्रिस्टारले एक गोल थप्यो। 

२ मिनेटको इन्जुरी टाइममा थ्रिस्टारका जर्सी नं. ११ का सुशील राईले गोल गर्दै टिमको जीत सुनिश्चित गरे। जर्सी नं. १७ का अफ्रिकन खेलाडी मांसा विभोगुलको क्रस पासलाई अत्यन्त छरितो रुपमा बागमतीका गोलकिपरलाई विट गराउँदै जाली चुमाए। 

थ्रिस्टारका एक दर्जन सशक्त प्रहारहरु वागमतीका गोलकिपर अरुण तामाङ्गले विफल पारेका थिए। नेपालका चर्चित सेन्टर फरवार्ड विमल घर्ती मगर, डिफेन्डर सरोज दाहाल, विश्व अधिकारी, अमित तामाङ्ग एवं दुई अफ्रिकन खेलाडी र स्थानीय खेलाडी सहित मैदानमा उत्रिएको बागमतीले दर्शकको अपार समर्थन पाएपनि विभिन्न अवसरलाई गोलमा परिणत गर्न नसक्दा उपविजेतामै चित्त बुझाउनु प-यो। नेपाली फुटबल क्लबमा चर्चित एवं इतिहास बोकेको ८ जना राष्ट्रिय एवं पूर्व राष्ट्रिय खेलाडी सहित मैदानमा उत्रिएको थ्रिस्टारले राजर्षिको उपाधि चुमेरै छाड्यो।

थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले नयाँ वर्षकै पहिलो क्यापको रुपमा राजर्षि जनक कपको उपाधि भित्र्याउन पाउँदा खुशी लागेको बताए। ‘विपक्षी पनि सशक्त टिम थियो’, उनले भने, ‘दबाबका बीच केटाहरुले अत्यन्त मेहनत गरेर नतिजा आफ्नो पक्षमा पारे।’

फाइनल खेलको म्यान अफ द म्याच घोषित हुँदै बागमतीका विजय घलानले १० हजार रुपैया“ पाए। त्यस्तै प्रतियोगिताकै उत्कृष्ट प्रशिक्षकको अवार्ड सहित थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले २० हजार रुपैया पाए भने सबैभन्दा बढी ४ गोल गरेका थ्रिस्टारकै सुशील राईले गोलस्कोररको अवार्ड सहित २० हजार नै हात पारे। उत्कृष्ट मिडफिल्ड घोषित हुँदै थ्रिस्टारका कप्तान विक्रम लामालाई नगद २० हजार दिइयो भने उत्कृष्ट गोलकिपर घोषित गर्दै बागमतीका अरुण तामाङ्गलाई पनि २० हजार नै दिइयो। त्यस्तै उत्कृष्ट डिफेन्स घोषित हुँदै बागमतीका एकेने क्रिस्टियनले २० हजार रुपैंया हात पारे। 

त्यस्तै प्रतियोगितामा बागमती राइजिङ अफ दि इयर प्लेयर घोषित हुँदै बागमतीका कप्तान सगुन राईले यामाहा कम्पनीको १५० सीसीको एफजेड मोटरसाइकल प्राप्त गरे। आयोजक बागमती युवा क्लबले प्रतियोगितामा खेल्नेहरु मध्ये सर्लाहीका उदीयमान एक खेलाडीलाई हरेक वर्ष मोटरसाइकल प्रदान गर्ने गरेको छ। 

प्रकाशित: ६ वैशाख २०७६ १४:४० शुक्रबार

राजर्षि_जनक_कप थ्रिस्टार उपाधि