खेल

के पाए खेलाडीले ?

बाँके - वैशाखको रापिलो गर्मी मौसम साक्षी राख्दै नेपालगन्जले सन्देश दिनेछ खेलकुद मार्फत। खेलकुद सद्भाव, मित्रता, एकता र विकासको प्रतिक हो भनेर। आयोजकले अनुमान गरेको करिब १० हजार जनतामाझ एउटा गीत गुन्जनेछ, ‘आठौ राष्ट्रिय खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफनै देशमा।’ रंगशालाको खेलमय गीतसँगै राष्ट्रिय खेलकुदको इतिहासमा अर्को पाना थपिनेछ आठौको।

बेलुका ५ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय खेलकुद उद्घाटन गर्नु अघि सम्म रंगशालमा केहि काम हुदै गर्नेछन। रंगशाला वरिपरिका अन्य भौतिक पुर्वाधारहरुको निर्माण सकिएको छैन। हतार भएपनि रंगशालालाई दुलही झै सजाउने प्रयासमा छ आयोजक टिम। थुप्रै कमजोरीका बिच भएपनि आठौ राष्ट्रिय खेलकुदले नेपाली जनतामाझ खेल भावना विकास गराउने प्रयास गर्नेछ, जुन खेलको विशेषता हो।

इतिहास अध्ययन गर्ने हो भने खेलकुदले नेपाली जनतालाई थुप्रै पटक गौरवान्वित हुने अवसर दिएको छ। राष्ट्र द्धन्द्धमा होमिएको बेला होस वा अस्थिरताबाट गुज्रिरहेको बेला। नेपाली खेलाडीले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको झन्डालाई फहराउने गरेका छन्। सफलता हासिल गरेका छन। जुन क्रम चलिरहनेछ। अन्तराष्ट्रिय पदक जित्नका लागि बलियो आधार तय गर्ने मुख्य प्रतियोगिताका रुपमा राष्ट्रिय खेलकुदलाई लिने गरिन्छ। राष्ट्रिय खेलकुदको नतिजाबाटै नेपालले दक्षिण एसियाली खेलकुद (साग) तयारी सुरु गर्ने गरेको छ।

स्थानीय स्तरबाट थुप्रै खेलबाट प्रतिभा जन्माउने उद्देश्य लिएकाले राष्ट्रिय खेलकुदलाई घरेलु खेलकुदको कुम्भ मेला भनिन्छ। तर नेपाली खेलकुदको कुम्भ मेला राज्यले सोचेको बाटो हिडेको देखिन्न। तमाम कमजोरीका बिच आठौ राष्ट्रिय खेलकुदले थुप्रै कमजोरीका बिच केहि सकारात्मक सन्देश दिएको छ। मेहनत गरे दुइ वर्षको अवधिमा अब राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ भन्ने। त्यसका लागि युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद(राखेप)ले दुर्घकालिन सोच विकास गर्न जरुरी छ। राष्ट्रिय खेलकुदमा विदेशमा भएका नेपालीलाइ पनि समेटने प्रयासको थालनी भएको छ। जुन नेपाली खेलकुदका लागि दिर्घकालिन रुपमा उपलब्ध हुनेछ।

नेपालगन्जले २०५४ सालमा चौथो राष्ट्रिय खेलकुद आयोजना गरेको थियो। त्यतिबेला खेलप्रेमी व्यावसायी रतन टण्डनले सहभागि सम्पुर्णको भोजन र आवासको जिम्मेवारी लिएपछि नेपालगन्जमा चौथो राष्ट्रिय खेलकुद आयोजना गर्न सम्भव भएको थियो। रतन टण्डनले देखाएको साहस कारण नेपालगन्ज तत्कालिन समयमा गतिलो पुर्वाधार पाएको थियो। चौथो खेलकुद यता नेपालगन्जमा स्तरीय पुर्वाधार बन्न सकेको थिएनन। जसको परिपुर्ती आठौले गरेको छ। आठौले नेपालगन्ज र प्रदेश नम्बर ५ लाई करिब १ अर्ब भन्दा बढिको भौतिक पुर्वाधार दिएर जादैछ। जसले नेपालगन्ज र प्रदेशको खेलकुद विकासमा टेवा पु-याउने छ।

राष्ट्रपतिले भब्य उद्घाटन गरेर फर्किएसँगै प्रदेशवासी माझ थुपै्र प्रश्न उब्जनेछन। हतार किन आठौ राष्ट्रिय खेलकुद गरियो? नेपालगन्जको वातावरणलाई हेर्ने हो भने वैशाख, जेठ, असार अत्याधिक गर्मी महिना हो। जुन खेल विज्ञान विपरित छ। आफनो नेतृत्वकालमा जसरी पनि राष्ट्रिय खेलकुद हुनु पर्छ भन्ने नेतृत्वको एकोहोरो ढिपी। जसले आठौको तयारी फितलो देखियो। राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्य सचिव केशव कुमार विष्टको कार्यकाल असारमा सकिदैछ। त्यस्तै स्थानीय आयोजक क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५ अध्यक्ष भीम ओलीको कार्यकाल मंसिरमा सकिदैछ। आफनो कार्य सकिदै गर्दा नेतृत्वले नियम, परिधि भन्दा ब्यक्तिगत स्वार्थ पुरा गर्ने लक्ष्यले प्रतियोगिता गर्ने आयोजना गर्न खोजेको देखिन्छ।  

प्रतियोगितालाई लक्षित गरेर निर्माण गरिएका कुनै पनि भौतिक पुर्वाधार पुरा भएका छैनन। तर प्रतियोगिता भने जसरी पनि गर्नु पर्छ भन्ने एकोहोरो रटानमा लागे नेतृत्व। जसका कारण राष्ट्रिय खेलकुद भनेपनि टेन्ट मुनी प्रतियोगिता आयोजना गर्नु पर्ने बाध्यता आइप¥यो। इन्डोरमा हुने अधिकाश खेल आउटडोरमा गरिएका छन। खेलाडीले पाउने सुविधामा कटौति गरिए। छनोट प्रतियोगिता निर्देशिका अनुसार हुन सकेनन।

प्रतियोगिता सकिएसँगै नेपालगन्जबासीले कत्तिको गुणस्तरीय पुर्वाधार पाए भन्ने जिज्ञासा रहनेछ। र उब्जनेछ केहि प्रश्नहरु के पाए नेपाली खेलाडीले, के पायो नेपालगन्जले आठौबाट?  कस्ता पुर्वाधार पाए नेपालगन्जवासीले ?

 

 

 

प्रकाशित: ५ वैशाख २०७६ ०२:४७ बिहीबार

आठौ_राष्ट्रिय_खेलकुद इतिहास खेलाडी