खेल

थ्री स्टार उपाधिनजिक

बल नियन्त्रणमा लिन प्रयासरत थ्री स्टार (नीलो) र एपिएफका खेलाडी। तस्बिर: टंक/नागरिक

सर्लाही - विभागीय टोली एपिएफ क्लबलाई २–० ले पराजित गर्दै थ्री स्टार क्लब सर्लाहीमा जारी तेस्रो तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बागमती युवा क्लबको अयोजनामा सञ्चालन भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा सुशील राईले ३१औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए।

सुनील बलको क्रस पासलाई उत्कृष्ट हेड गोल गर्दै राईले प्रतियोगिताकै सर्वाधिक गोलकर्ताको सूचीमा आफूलाई उभ्याएका छन्। जारी प्रतियोगितामा उनको यो तेस्रो गोल हो। सुरुआतबाट नै आक्रामक खेलेको थ्री स्टारका लागि दिनेश राजवंशीले गोल गर्दै अग्रता दोब्बर पारे। डी बक्सबाहिरबाट प्रहार गरेको कडा बलले एपिएफको जाली चुम्दा गोलकिपर रोमन रसाइलीले भेउ नै पाएनन्। टोलीका लागि दोस्रो गोल गरेका राजवंशी म्यान अफ दी म्याच घोषित भए।

उनले नगद १० हजार रुपैयाँ हात पारे। विदेशी दुई खेलाडीलाई मैदान उतार्दै आक्रामक खेलेको थ्री स्टारसामु विभागीय टोली एपिएफ खुलेर खेल्न सकेन। सिनियर खेलाडीहरू नेपालगन्जमा भइरहेको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि प्रस्थान गर्दा एपिएफले दोस्रो रोजाइका खेलाडीलाई मैदान उतारेको थियो। विजयी थ्री स्टारले भुटानको पारो फुटबल क्लब र बागमती नगरपालिकाबीच बुधबार हुने विजेतासँग वैशाख ६ गते फाइनल खेल्नेछ। 

प्रकाशित: ४ वैशाख २०७६ ०१:०० बुधबार

विभागीय_टोली एपिएफ थ्री_स्टार