खेल

यु १९ विश्वकप छनोट: नेपाल युएईसँग पराजित

आइसीसी यू १९ विश्वकप छनोटमा नेपाल युएईसँग १ रनले पराजित भएको छ।

पहिलो खेलमा सिंगापुर माथि जित निकालेको नेपालले दोश्रो खेलमा युएईसँग पराजित बनेको हो। शनिबार भएकोे खेल वर्षाले प्रभावित बनाए पछि नेपाल डिएल मेथडबाट १ रनले पराजित बनेको हो। शनिबारको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २४७ रन बनाएकाे थियाे। २४८ रनको चुनौती पछ्याउने क्रममा युएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रन बनाउँदा वर्षाले खेल प्रभावित बनेको थियो। त्यसपछि खेल सुचारु हुन सकेन।

नेपालका लागि हरिबहादुर चौहानले सर्वाधिक ६७ रनको योगदान दिए भने भीम सार्कीले ५३ रन तथा ओपनर रित गौतमले ४४ रनको योगदान दिए। त्यस्तै आशिफ शेखको २७ रन, कप्तान रोहित पौडेलको १८ रन तथा पवन सर्राफको १२ रन बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। अर्कोतर्फ युएईका लागि अंस टण्डनले ५४ रन तथा विरुत्त अरविन्दले ४७ रनको महत्वपूर्ण योगदान दिए। नेपालको बलिङमा कमलसिंह ऐरी र सागर ढकालले समान १/१ विकेट लिए।

प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, युएई, कुवेत, ओमान र सिंगापुर सहभागी छन्। नेपालले तेस्रो खेल मलेसियासँग वैशाख २ गते खेल्दै छ भने चौथो खेल ओमानसँग वैशाख ३ गते र अन्तिम खेल कुवेतसँग वैशाख ५ गते खेल्नेछ।
 

प्रकाशित: ३० चैत्र २०७५ १०:५३ शनिबार

यू_१९_विश्वकप नेपाल_क्रिकेट यू_१९_क्रिकेट