खेल

‘कुल क्याप्टेन’को त्यो उग्ररुप, आवेशमा आउँदा कारवाही

तस्बिर: एजेन्सी

काठमाण्डाै– कुल क्याप्टेनको छवि बनाएका भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी बिहीबारको खेलमा उग्र देखिए।

१२ औं संस्करणको जारी आइपीएलमा बिहीबार महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नइ सुपर किंग्सको प्रतिस्पर्धा थियो राजस्थान रोयल्ससँग। खेल जति प्रतिस्पर्धात्मक थियो त्यति नै रोचक पनि। अन्तिम बलमा आएर चेन्नइले खेल आफ्नो पक्षमा पार्दै तालिकाको शीर्ष स्थानमा रहन सफल रह्यो।

पहिले ब्याटिङ् गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५१ रन जोड्न सफल भयो। औषत लक्ष्य पछ्याएको चेन्नइको व्याटिङ् पनि औषत नै चल्यो।

जितको लागि चेन्नइलाई अन्तिम ओभरमा १८ रन चाहिएको थियो। चेन्नइको हातबाट खेल उम्कदै गएको थियो। अन्तिम ओभरमा खेल त्यो मोडमा गयो जुन समर्थकहरुले सायदै सोचेका थिए। अन्तिम ओभरको तेस्रो बलमा आइपुग्दा धोनी बोल्ड आउट हुन पुगे। खेल अझ रोमाञ्चक बन्दै गयो।

अब अन्तिम ३ बलमा ८ रन आवश्यक थियो। नयाँ ब्याट्म्यान आए मिचल स्टनर। चौथौ बलमा स्टोक्सले माथिबाट बल फ्याके। स्टम्प पछाडिका अम्पायरले नो बल दिएता पनि लेग अम्पायरले नो बल नभएको इसारा गरे। २ रन पनि आयो। तर, यसले ‘क्याप्टेन कुल’ एक्कासी तात्न पुगे। उनी बादविवाद गर्नका लागि मैदान प्रवेश गरे। उनले अम्पायरहरुलाई दवाव दिने प्रयास गरे। तर, अम्पायरहरु आफ्नो निर्णयबाट टसमस भएनन्।

खेल त चेन्नइले जित्न सफल भयो। पाँचौं बलमा २ रन ल्याएको चेन्नइले वाइडबल र अन्तिम बलमा छक्का प्रहार गर्दै गुमिसकेको खेल आफ्नो पक्षमा पार्न सफल रह्यो। यद्यपी महेन्द्र सिंह धोनीको व्यवाहारलाई लिएर सामाजिक सञ्जालमा चर्चा परिचर्चा व्यापक रुपमा भइरहेको छ।

त्यसो त खेलमा म्यान अफ दी म्याच समेत बनेका धोनीलाई आचार संहिताको उल्लङ्घन गरेको आरोपमा म्याच फीको ५० प्रतिशत जरिवाना पनि भइसकेको छ। तर, उनको बिहीबार देखिएको उनको उग्ररुपले संयमित कप्तानको छविलाई भने पक्कै पनि धमिल्याएको छ।

 

प्रकाशित: २९ चैत्र २०७५ १०:२१ शुक्रबार

महेन्द्रसिंह_धोनी आइपीएल चेन्नइ_सुपर_किंग्स