खेल

एपिएफ सेमिफाइनलमा

सर्लाही- साबिकको विजेता सुदूरपश्चिम–११ लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै विभागीय टोली एपिएफ सर्लाहीमा जारी राजर्षि जनक कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बागमती युवा क्लबको आयोजनामा सञ्चालन गरिएको प्रतियोगितामा अन्तिम चारमा स्थानमा बनाउन एपिएफका प्रदीप स्याङ्तानले २८औं मिनेटमा गोलको खाता खोलेका थिए। पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा सुदीप सिखाकारले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै एपिएफलाई २–० को अग्रता दिलाए।

सुदूरपश्चिमका विदेशी रक्षक कोभाडियो क्यालेवको पेनाल्टी क्षेत्रभित्र ह्यान्ड भएपछि एपिएफले अवसर पाएको थियो। पहिलो हाफमा लिएको २–० अग्रता पछि उच्च मनोबलमा रहेको एपिएफ दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो। ५३औं मिनेटमा प्रदीप लामाले टोलीका लागि तेस्रो गोल गर्दा खेल सकिन दुई मिनेट बाँकी रहँदा प्रविनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए। यसअघि साबिकको विजेता सुदूरपश्चिमले खेलमा फर्किन कयौं प्रयास गरे पनि एपिएफसामु खुलेर खेल्न सकेन। फराकिलो जित निकालेको एपिएफले बैशाख ३ गते थ्री स्टार क्लबको सामना गर्नेछ। प्रतियोगितामा शुक्रबार वीरगञ्ज युनाइटेड र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ।

प्रकाशित: २९ चैत्र २०७५ ००:४० शुक्रबार

सुदूरपश्चिम–११ एपिएफ राजर्षि_जनक_कप