खेल

प्रदेशकै सर्वाधिक धनराशीको राजर्षि जनक कप चैत २५ देखि

सर्लाही– राजर्षि जनक कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी चैत २५ गतेदेखि हुने भएको छ। आयोजक बागमती युवा क्लबले विहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको टाइसिट समेत सार्वजनिक गरेको छ।

प्रथम पुरस्कार १० लाख नगदसहित राजर्षि जनक कप तथा दोस्रो पुरस्कार ५ लाख रुपैंया रहेको प्रतियोगितामा दुई विभागीय एवं एक विदेशी टोलीसहित १२ टिमले प्रतिस्पर्धा गर्ने निश्चित भएको क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए। 

बागमती नगरपालिका–११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृत्ति खेल मैदानमा हुने प्रतियोगितामा डिफेण्डिङ्ग च्याम्पियन सुदूरपश्चिम–११ सुदूरपश्चिम, नेपाल पुलिस क्लब काठमाडौं, एपीएफ क्लब काठमाडौं, रुस्लान थ्रि स्टार क्लब ललितपुर, हिमालयन शेर्पा क्लब काठमाडौं, सरस्वती युवा क्लब काठमाडौं, फ्रेण्डस् क्लब काठमाडौं, झापा–११, वीरगंज युनाइटेडलगायत चर्चित क्लबसहित भुटानको पारो क्लब, आयोजक बागमती युवा क्लब र बागमती नगरपालिका कार्यालय टिमबीच उपाधिका लागि भिडन्त हुने भएको छ। 

वैशाख ६ गते हुने फाइनल प्रतिस्पर्धामा प्रथम हुने टिमले १० लाख नगदसहित पूर्व संविधानसभा सदस्य नरेन्द्र साहद्वारा प्रायोजित सुन र चाँदी प्रयोग गरेर ४ लाख रुपैंया लागतमा निर्माण गरिएको २० किलोको कलात्मक शिल्ड चुम्न पाउने छ। ७५ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिता अन्तर्गत हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैंया तथा हरेक दिनको म्याद अफ दि म्याच घोषित खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष मैनालीले जानकारी दिए। त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाही निवासी एक खेलाडीलाई बागमती राइजिङ अफ दि ईयर प्लेयर्स घोषणासहित एक थान मोटरसाइकल प्रदान गरिने समेत आयोजकले जनाएका छन्।

प्रतियोगिता हेर्नका लागि दर्शकबाट प्रति खेल सय रुपैंया तथा सेमिफाइनल एवं फाइनल खेलमा भने २०० रुपैयाँ टिकट दर तोकिएको आयोजकले जनाएको छ। अध्यक्ष मैनालीका अनुसार दर्शक बस्नका लागि फलाम र बाँसको प्याराफिट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। प्रदेश नं. २ कै सबैभन्दा ठुलो फुटबल प्रतियोगिता सफल रुपले सम्पन्न गर्नका लागि बागमती नगरपालिका सहित स्थानीय तहहरु, विभिन्न गैरसरकारी संघ संस्था, उद्योगी व्यापारीसँग सहयोग संकलन गरिएको र विभिन्न व्यापारिक हाउसहरुले प्रायोजन समेत गरेको आयोजक समितिका संयोजक दिपक लामाले जानकारी दिए। प्रतियोगिताको पहिलो संस्करणको उपाधि भने मनाङ मर्स्याङ्दी क्लबले चुमेको थियो।

यसवर्ष प्रतियोगिता सुरक्षित रुपले सम्पन्न गर्नका लागि खेल मैदानलाई फलामे तारबारले घेराबेरा गरिएको संयोजक लामाले जानकारी दिए। ‘दर्शकहरु बस्ने स्थानभन्दा भित्र नै फलामे तारबारले घेराबेरा गरिएको छ’, लामाले भने, ‘घेराबेरा भित्र खेल अवधीभर खेलाडी, अफिसियल र निर्णायक बाहेक कोही पनि छिर्न सक्ने छैनन्।’ गतवर्ष नेपाल आर्मी र सुदूरपश्चिम–११ बीच भएको फाइनल प्रतिस्पर्धा अन्तर्गत खेलअवधी भित्रै दर्शकहरु मैदानमा छिरेर खेलाडीमाथि कुटपिट गरेपछि दुई दिनसम्म खेल स्थगित गर्नु परेको थियो। प्रतियोगिता स्थलको सुरक्षा व्यवस्थाका लागिस्थानीय प्रशासनसँगको समन्वयमा पर्याप्त सुरक्षाकर्मी सहित स्वयंसेवक समेत परिचालन गरिने उनले बताए।

पत्रकार सम्मेलनमा बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तान लगायतको उपस्थिती रहेको थियो। 

प्रकाशित: २१ चैत्र २०७५ १५:०८ बिहीबार

फुटबल राजर्षि_जनक_कप बागमती_युवा_क्लब