खेल

मनमोहन दुहवी गोल्डकप : उद्घाटन खेलमा आर्मीलाई सफलता

त्रिभुवन आर्मी क्लब (हरियो) र चर्च ब्वाइजका खेलाडी बल अघि बढाउन संघर्ष गर्दै।    तस्बिर : नागरिक

इटहरी – चर्च ब्वाइज युनाइटेड, काठमाडौंलाई ५–० ले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब सुनसरीको दुहवीमा शनिबारदेखि सुरु भएको तेस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

दुहवी रंगशालामा भएको खेलमा आर्मीका लागि टेकबहादुर बुढाथोकीले ह्याट्रिक गर्दा भरत खवास र सन्तोष तामाङ्ले थप १–१ गोल गरे।

पूरै अवधि आर्मीले विपक्षीलाई नियन्त्रणमा लिँदा चर्च ब्वाइजका डिफेन्स र तीन विदेशी खेलाडीले समेत अपेक्षाकृत खेल प्रदर्शन गर्न सकेनन्। खेलाडीबीच आपसी तालमेल हुँदा आर्मीले एकपक्षीय नतिजा निकाल्न सफल भयो। खेलको पहिलो हाफमा २–० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा थप तीन गोल गर्याे। 

खेलमा पहिलो गोल टेकबहादुर बुढाथोकीले गरे। उनले २४औं मिनेटमा एकल प्रयासबाट सो गोल गरेका थिए। उनले खेलको ५२औं र ८३औं  थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे। 

खेलकोे २९औं मिनेटमा सन्तोष तामाङ र ८७औं मिनेटमा भरत खवासले गोल गर्दै आर्मीको जित सुनिश्चित गरे। खेलको म्यान अफ दी म्याच आर्मीका टेकबहादुर घोषित भए। उनलाई नगद दस हजारसहित पदक प्रदान गरियो।

आइतबारको खेल नेपाल पुलिस क्लब र मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुनेछ। चैत २३ गतेसम्म चल्ने  प्रतियोगितामा विजेतालाई ६ लाख र उपविजेतालाई नगद ३ लाख पुरस्कार प्रदान गरिनेछ। 

प्रतियोगितामा म्यान अफ दी म्याचले १० हजार, हाई स्कोररले २० हजार, उत्कृष्ट खेलाडीले सामसुङको ४२ इन्च लिड टिभी, ट्रफी पदक र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। 

प्रतियोगितामा नेपालबाट त्रिभुवन आर्मी क्लब काडमाडौं, चर्च ब्वाइज युनाइटेड काडमाडौं, नेपाल पुलिस क्लब काडमाडौं, भारतको रोयल क्लब वेस्ट बंगाल, क्यामरुनको दाउफिन्स फुटबल क्लब, मेची नेत्रालय काँकडभिट्टा, रुस्लान थ्री स्टार काडमाडौं र आयोजक एलेभेन एरोज क्लब दुहबी सहभागी छन्। 

एलेभन एरोज क्लब दुहवी र मनमोहन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा गोल्डकप सुरु भएको हो। एलेभेन एरोज क्लबले बर्सेनि दुहवी गोल्डकप गर्दै आएकोमा तीन वर्षदेखि दिवंगत पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नाममा फुटबल प्रतियोगिता गर्न थालिएको हो। 

प्रकाशित: १७ चैत्र २०७५ ०४:३९ आइतबार

मनमोहन_दुहवी_गोल्डकप त्रिभुवन_आर्मी चर्च_ब्वाइज_युनाइटेड टेकबहादुर_बुढाथोकी