खेल

उपाधि जित्ने दाउफिन्स र आयोजकको दाबी

तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर – हेटौंडामा जारी सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि क्यामरुनी दाउफिन्स फुटबल क्लब र आयोजक मकवानपुर–११ दुवैले जित्ने दाबी गरेका छन्। 

फाइनलअघि शुक्रबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवैले उपाधि हत्याउनसक्षम रहेको दाबी गरेका छन्। प्रिम्याच कन्फ्रेन्समा दुवै क्लबका प्रशिक्षक र कप्तानले उपाधि जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिए। दाउफिन्सले मोफसलका चार वटा उपाधि कब्जा गरेर दरिलो दाबेदारी प्रस्तुत गरेको छ भने मकवानपुर नेपाली र विदेशी खेलाडीको सशक्त प्रदर्शनमा पहिलो उपाधि हत्याउने दाउमा छ।

दाउफिन्सले यसै प्रतियोगितामा पनि ‘ए’ डिभिजन क्लब सशस्त्र प्रहरीको एपिएफ र रुस्लान थ्री स्टार क्लबलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो भने आयोजक मकवानपुर–११ पनि ‘ए’ डिभिजन क्लबहरु मच्छिन्द्र र नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधिनजिक पुगेको हो। मकवानपुरको मिडफिल्ड र फरवार्ड लाइन केही मजबुत देखिन्छ भने दाउफिन्सको मिडफिल्ड र गोलरक्षक सक्षम रहेका छन्। 

दाउफिन्सले मोफसलका चार वटा उपाधि कब्जा गरेर दरिलो दाबेदारी प्रस्तुत गरेको छ भने मकवानपुर नेपाली र विदेशी खेलाडीको सशक्त प्रदर्शनमा पहिलो उपाधि हत्याउने दाउमा छ।

मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले दाउफिन्सलाई पराजित गरी प्रतियोगिताको उपाधि जित्नेमा ढुक्क रहेको दाबी गरे। मकवानपुरका कप्तान अशोक बरालले बलियो भएर मात्र नतिजा आफ्नो बनाउन नसकिने स्मरण गराउँदै प्राविधिक र रणनीति पक्षले उपाधि जित्ने बताए। दाउफिन्सका टिम व्यवस्थापक आशिक थापामगरले उपाधि जित्नकै लागि आफूहरू प्रतियोगितामा सहभागी भएको प्रतिक्रिया दिए। 

दाउफिन्सका कप्तान एंगमा एंगोलले प्रतिद्वन्द्वीको सम्मान गर्दै उपाधि चुम्ने बताए। प्रतियोगिताको विजेताले ८ लाख, उपविजेताले ४ लाख रुपैयाँसहित शिल्ड पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधाका उत्कृष्टले जनही २० हजार रुपैयाँ पाउनेछन्। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा करिब ११ वर्षपछि राष्ट्रिय फूटबल प्रतियोगिता हेटौंडामा आयोजना गरिएको हो। प्रतियोगिताको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो।

प्रकाशित: १६ चैत्र २०७५ ०४:२६ शनिबार

दाउफिन्स मकवानपुर–११ हेटौंडा