खेल

एपिएफद्वारा उपाधि रक्षा

काठमाडौं – न्यु डायमन्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै आयोजक एपिएफले छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ। 

हलचोकस्थित एपिएफको कोर्टमा शुक्रबार सम्पन्न फाइनलमा न्यु डायमन्डलाई २५–१२, २५–११ र २५–११ को सेटमा हराउँदै उपाधिलाई निरन्तरता दिएको हो। योसँगै विभागीय टोली एपिएफले जारी सिजनमा १०औं उपाधि जितेको छ। एपिएफले आफैंले आयोजना गरेको छैटौं संस्करणसम्म पाँच पटक उपाधि घरमै राख्न सफल भएको हो। यसअघि चौथो संस्करणमा न्यु डायमन्डले उपाधि जितेको थियो। 

एपिएफले यो वर्ष सम्पन्न दुई सभामुख महिला खुला महिला भलिबल, शेरबहादुर खड्का स्मृति महिला भलिबल, पोखराको लामाचौरमा सम्पन्न भलिबल, बाग्लुङमा सम्पन्न २२औं महिला खुला महिला भलिबल, ढोरपाटन डबल लिग, न्यु डायमन्ड कप, एनभिए लिग र पर्वतमा सम्पन्न दिदी बहिनी महिला भलिबलको उपाधि जित्न सफल भएको छ। 

एपिएफले आदिअवादी प्रतियोगितामा भने उपविजेतामा चित्त बुझाएको थियो। शुक्रबारै भएको तेस्रो स्थानको प्रतिस्पर्धामा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई पराजित गर्याे। पुलिसले आर्मीलाई ३–२ को सेटमा स्तब्ध बनाएको थियो। 

पहिलो सेट २५–१८ ले जितेको पुलिसले त्यसपछिका दुई सेट १७–२५ र १३–२५ ले गुमाएको थियो। तर,चौथो सेटमा लयमा फर्किए पनि पुलिसले २५–२३ को संघर्ष गर्नुपर्याे। निकै प्रतिस्पर्धात्मक अन्तिम तथा निर्णायक सेटमा १५–१३ ले जित निकाल्दै पुलिस तेस्रो बन्न सफल भयो। 

छैटौं संस्करणमा पाँचाैं उपाधि जितेको आयोजक एपिएफले उपाधिसँगै नगद दुई लाख ५० हजार प्राप्त गर्दा उपविजेतामै सीमित न्यु डायमन्डले १ लाख २५ हजार र तेस्रो भएको पुलिसले ५० हजार रुपैयाँमा चित्त बुझायो। प्रतियोगितामा एपिएफकी रेश्मा भण्डारी सर्वोत्कृष्ट खेलाडी बनिन्। रेश्माले स्कुटर प्राप्त गरिन्। 

प्रतियोगितामा एपिएफकी नेविका चौधरी उत्कृष्ट स्पाइकर घोषित हुँदा न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट सर्भर, एपिएफकी मनीषा तामाङ उत्कृष्ट डिफेन्स, एपिएफका सरस्वती चौधरी उत्कृष्ट ब्लकर र कप्तान विनिता बुढाथोकी उत्कृष्ट सेटर घोषित भइन्। उदीयमान खेलाडीतर्फ एपिएफकी पुजा चौधरी र उत्कृष्ट प्रशिक्षकमा एपिएफका ज्ञानेन्द्र बिष्ट घोषित भए। उत्कृष्ट सबैले जनही ५–५ हजार रुपैयाँ प्राप्त गरे। 

प्रकाशित: १६ चैत्र २०७५ ०४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App