खेल

दीपेश र रसिला च्याम्पियन

काठमाडौं – सशस्त्र प्रहरी बलको एपिएफ क्लबका दीपेश धामी र त्रिभुवन आर्मीकी रसिला महर्जन शुक्रबार सम्पन्न १५औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन भएका छन्।

हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा शुक्रबार सम्पन्न पुरुष एकलमा आयोजकका दीपेश सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–१२, १८–२१, २१–१४ ले हराउँदै च्याम्पियन भएका हुन्। च्याम्पियन दीपेशले नगद ६० हजारसहित ट्रफी प्राप्त गरे। दीपेश यो प्रतियोगितामा पुरुष एकल, युगल र मिश्रीत युगल गरि तीन विधामा च्याम्पियन भए। 

गत संस्करणका विजेता रत्नजित तामाङले भने प्रशिक्षणका क्रममा जापानमा रहेका कारण प्रतियोगिता खेलेका थिएनन्। महिला एकलमा अघिल्लो संस्करणकी उपविजेता आर्मीकी रसिला च्याम्पियन भइन्। उनले आयोजक एपिएफकी जेसिका गुरुङलाई २१–१४, १३–२१, २१–१८ ले हराउँदै उपाधि उचालिन्। महर्जनले नगद ५० हजारसहित ट्रफी प्राप्त गर्दा गुरुङले २५ हजार रुपैयाँमा चित्त बुझाइन्। 

यसअघि बिहीबारै सम्पन्न छात्रा यु–१७ तर्फ पनि महर्जन च्याम्पियन भएकी थिइन्। गत वर्षकी विजेता आर्मीकी नङ्सलदेवी तामाङले भने व्यक्तिगत कारण देखाउँदै प्रतियोगितामा सहभागिता जनाएकी थिइनन्। पुरुष युगलमा गत संस्करणका उपविजेता एपिएफका दीपेश धामी र विजित थापामगरको जोडीले ट्रफी उचाले। धामी र मगरको जोडीले आर्मीका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीमाथि २१–१६, २१–४ को सहज जित निकालेका थिए। 

महिला युगलतर्फ एपिएफकी पुजा श्रेष्ठले आफ्नो साख जोगाउँदा जेसिका गुरुङसँग मिलेर आर्मीकी रसिला महर्जन र अनुमाया राईको जोडीलाई पराजयको स्वाद चखाइन्। श्रेष्ठ र गुरुङको जोडीले महर्जन र राईको जोडीलाई २१–१०, २१–१९ को सोझो सेटमा पराजित गरे। महिला युगलको विजेता जोडीले नगद ४० हजार र दोस्रोले नगद २५ हजार रुपैयाँमा चित्त बुझाएका थिए। गत वर्ष जित हात पार्दा पुजाको जोडीमा शिक्षा श्रेष्ठ थिइन्। 

विजेतालाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अतिरिक्त महानिरीक्षक रामशरण पौडेल र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ लगायतले पुरस्कृत गरेका थिए। कुल ७ लाख १० हजार पुरस्कार राशिको प्रतियोगितामा पुरुष एकल र युगल जोडीका शीर्ष दुईले नगद ६० र ३० हजार तथा तेस्रो स्थानका दुईले नगद २५ हजार (१२ हजार ५ सय गुणा २) प्राप्त गरेका थिए। 

युवा स्टार प्रिन्स दाहाललाई स्तब्ध बनाउँदै पुरुष एकलमा च्याम्पियन दीपेश धामी प्रतियोगितामा पुरुष युगल र मिश्रीत युगल गरी थप दुई विधामा उपाधिको स्वाद चाख्न सफल भए।

प्रकाशित: १६ चैत्र २०७५ ०४:१८ शनिबार

दीपेश_धामी रसिला_महर्जन कृष्णमोहन_स्मृति_खुला_ब्याडमिन्टन_प्रतियोगिता