खेल

तेक्वान्दोका सुजनलाई कांस्य

काठमाडौं – नेपालका सुजन गुरुङले हङकङमा सम्पन्न एसियन सिटिजन तेक्वान्दो च्याम्पियनसिपमा आइतबार कांस्य पदक जितेका छन्।

हङकङस्थित कोवलोन स्पोर्ट्स पार्क सेन्टरमा सम्पन्न च्याम्पियनसिपअन्तर्गत फाइटतर्फ गुरुङले कांस्य पदक दिलाएको नेपाली टोलीका व्यवस्थापक कुमार लामा घिसिङले जानकारी दिएका हुन्।

फाइटको ५८ केजीमुनि तौलसमूहको सेमिफाइनलमा चीनका खेलाडी सिकोम किम्पोसँग ९–४ को स्कोरमा स्तब्ध भएपछि गुरुङले कांस्य पदकमै चित्त बुझाए।

त्यसअघि प्रिक्वार्टरफाइनलमा सिंगापुरका नोचाम्बो लिकाओलाई ९–७ ले र क्वार्टरफाइनलमा मंगोलियाका तोमातोरेट मिसिम्बोलाई १३–९ ले पराजित गर्दै गुरुङले नेपालको पदक पक्का गरेका थिए।

राजु खड्काको प्रशिक्षणमा रहेका गुरुङ  सेमिफाइनलमा भने चीनका खेलाडीको चुनौतीलाई पार गर्न नसक्दा कांस्यमै सीमित भए। नेपाली टोलीको हेड अफ टिममा राष्ट्रिय टिमका प्रशिक्षकसमेत रहेका नोर्बु लामा छन्। 

 

प्रकाशित: १२ चैत्र २०७५ ०४:३० मंगलबार

सुजन_गुरुङ हङकङ तेक्वान्दो