खेल

पोग्बा युनाइटेडमै खुसी

लन्डन – फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले व्यावसायिक खेलजीवनमा स्पेनिस ला लिगा महारथी रियाल मड्रिडबाट खेल्ने सबै खेलाडीको चाहना हुने गरे पनि आफू भने म्यानचेस्टर युनाइटेडमै खुसी रहेको बताएका छन्।२६ वर्षे पोग्बाले युनाइटेडका अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजायरको प्रशंसा गर्दै उनीसँग राम्रो सम्बन्ध भएको समेत बताएका छन्।

‘अहिलेलाई म युनाइटेडमै खुसी छु। टोलीमा नयाँ प्रशिक्षक छन् र म अहिले यहींबाट खेलिरहेको छु,’ पोग्बाले भने। ‘रियाल मड्रिड विश्वकै सर्वाधिक सफल क्लब हो  र यो सधैं सबै खेलाडीको सपना बन्ने गरेको छ,’ पोग्बाले थपे।

पूर्वप्रशिक्षक जोजे माउरिन्होसँगको सम्बन्धमा चिसोपना आएसँगै पोग्बाको युनाइटेड बसाइका बारेमा दुबिधा बढेको थियो। लगातारको खराब नतिजापछि माउरिन्हो बर्खास्तगीमा परेपछि सोल्सजायरले डिसेम्बरबाट युनाइटेड सम्हादै आएका छन्।

सोल्सजायरको आगमनसँगै पोग्बाले पहिलो रोजाइमा लगातार अवसर पाएका थिए। सोल्सजायरको प्रशिक्षणका सुरुआती ३ खेलमा पोग्बाले ४ गोल गर्दै आफ्नो लय प्रमाणित गरेका थिए। सोल्सजायरले जारी सिजनको अन्त्यसम्म युनाइटेडको प्रशिक्षण सम्हाल्ने बताइए पनि पोग्बाले भने सोल्सजायरको आगमनपछि टोलीले उल्लेख्य सुधार गरेको भन्दै उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्नुपर्ने बताएका छन्।

‘पक्कै पनि हामी सोल्सजायर क्लबमै बसेको हेर्न चाहन्छाैं,’ पोग्बाले भने, ‘उत्कृष्ट नतिजाहरू आइरहेका छन्। मेरो र प्रशिक्षकको सम्बन्ध पनि राम्रो छ । उनी सबै खेलाडीसँग राम्रो व्यवहार गर्छन्। उनलाई क्लबका बारेमा सबै थाहा छ। त्यो सकारात्मक पक्ष हो।’

माउरिन्हो बर्खास्तगीमा पर्दा युनाइटेड छैटाैं स्थानमा थियो र टोली चौथो स्थानको टोलीभन्दा ११ अंकले पछि थियो। तर सोल्सजायरको आगमनपछि युनाइटेड हाल पाँचाैं स्थानमा छ। टोली तेस्रो स्थानको टोटेनह्यामभन्दा मात्र ३ अंकले पछि छ।साथै युनाइटेड पेरिस सेन्ट जर्मन (पिएसजी)लाई निराश पार्दै च्याम्पियन्स लिगको समेत क्वार्टरफाइनल प्रवेश गरिसकेको छ।
‘हामी अहिले राम्रो अवस्थामा छाैं र नतिजा पनि सोचेअनुरूप आइरहेका छन्,’ पोग्बाले भने।

प्रकाशित: ११ चैत्र २०७५ ०६:३९ सोमबार

मिडफिल्डर म्यानचेस्टर_युनाइटेड पाउल_पोग्बा फ्रान्स