खेल

जापानी ओलम्पिक प्रमुखले पद छोड्ने

टोकियो – जापान ओलम्पिक कमिटी (जेओसी) का प्रमुख सुनेकाजु ताकेदाले जुन महिनामा पदबाट हट्ने घोषणा गरेका छन्। फ्रान्सेली अधिकारीले २०२० को टोकियो ओलम्पिक आयोजना अधिकार लिँदा भ्रष्टाचार गरेको आरोप लगाएसँगै ताकेदाले यस्तो घोषणा गरेका हुन्।

‘म जेओसीको भविष्यलाई ध्यानमा राख्दै  पद छोड्ने घोषणा गर्दछु। नयाँ नेतृत्वमा टोकियो ओलम्पिकको सफलतापूर्वक आयोजना गर्न सके त्यसले जापानको खेलकुदमा नयाँ युगको सुरुआत गर्नेछ,’ ताकेदाले भने। ताकेदाले भ्रष्टाचारको मुद्दासँग आफ्नो निर्णयको कुनै सम्बन्ध नभएको समेत प्रस्ट पारेका छन्। साथै ७१ वर्षे ताकेदाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)बाट समेत हट्ने बताएका छन्।

ताकेदाको कार्यकाल जुनमा सकिनेछ। फ्रान्सेली अधिकारीले आफूहरूसँग २०२० को टोकियो ओलम्पिक आयोजना अधिकार लिँदा भ्रष्टाचार गरेका पर्याप्त प्रमाण भएको र यस विषयमा अनुसन्धान भैरहेको बताएसँगै ताकेदामाथि पद छाड्न चर्को दबाब परेको थियो।

जेओसीको वर्तमान नियमअनुसार प्रमुख पदमा रहन ७० वर्षभन्दा कम उमेरको उम्मेदवार हुन आवश्यक छ। तर जापानी सञ्चारमाध्मले केही साताअघि ताकेदालाई अर्को कार्यकालका लागि दोहोर्याउन उक्त नियम संशोधन गराउन लागेको खबर सार्वजनिक गरेका थिए।

तर प्रतियोगिता आयोजना हुन डेढ वर्षभन्दा कम समय बाँकी हुँदा ताकेदामाथि छानबिन सुरु भएसँगै प्रतियोगिताको आयोजनाका बारेमा विभन्न टीकाटिप्णी भइरहेको छ।

‘म मेरो कारणले टोकियो ओलम्पिक २०२० को आयोजनामा कुनै प्रभाव नपरोस् भन्ने चाहन्छु,’ ताकेदाले भने, ‘तर म मेरो कार्यकालको अन्तिम दिनसम्म आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छु। ममाथि लागेका अरोपमा कुनै सत्यता छैन र म निर्दोष छु।’

‘मैले पहिले पनि भनिसकेको छु,मैले कुनै गल्ती गरेको छैन। म आफूलाई निर्दोष साबित गर्न तत्पर छु,’ ताकेदाले थपे।जनवरीमा ताकेदाले फ्रान्समा भ्रष्टाचारको मुद्दामा बयानका लागि अदालतमा हाजिर भएको सार्वजनिक भएको थियो।

उनीमाथि २१ लाख अमेरिकी डलर हिनामिना गरेको आरोप थियो। जेओसी बोर्ड सदस्य तथा १९८४ मा लस एन्जल्समा भएको ओलम्पिकमा जुडोतर्फका विजेता यासुहिरो यामासितालाई जेओसीको नयाँ अध्यक्षको प्रत्याशीका रूपमा हेरिएको छ।

 

प्रकाशित: १० चैत्र २०७५ ०४:३० आइतबार

जापान ओलम्पिक सुनेकाजु_ताकेदा पद