खेल

पलिस्था र राहुल सम्मानित

काठमाडौं – १६औं मुवाँथाई विश्व च्याम्पियनसिपमा पदक जित्न सफल पलिस्था कक्षपति र राहुल श्रेष्ठ शनिबार नगदसहित सम्मानित भएका छन्।

राष्ट्रिय मुवाँथाई संघ नेपालले पदक विजेताद्वय आफ्ना खेलाडीलाई सम्मान गरेका हुन्। थाइल्यान्डको बैंककमा मार्च १२ देखि २० तारिखसम्म भएको विश्व च्याम्पियनसिपमा पलिस्थाले स्वर्ण र राहुलले कांस्य पदक नेपाललाई दिलाएका थिए। पलिस्थाले १५ हजार तथा राहुलले १० हजार नगद पुरस्कारसहित प्रशंसापत्रबाट सम्मानित भए। 

महिला क्याडेट ३० केजीमा पलिस्था कक्षपतिले नेपाललाई स्वर्ण दिलाएकी थिइन्। पलिस्थाले भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। सेमि प्रोफेसनल फाइटतर्फ राहुलले पुरुष ५७ केजीमा कांस्य जितेका थिए। ब्राजिलका खेलाडीलाई हराउँदै राहुल सेमिफाइनलमा पुगेका थिए। तर, सेमिफाइनलमा उज्बेकिस्तानका खेलाडीसँग चुकेपछि राहुल कांस्यमै सीमित भए। 

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट, मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच सम्मान गरे। सदस्यसचिव विष्टले पदक विजेता खेलाडीलाई राखेपले पनि चाँडै नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाए।

 

प्रकाशित: १० चैत्र २०७५ ०४:२८ आइतबार

मुवाँथाई पलिस्था_कक्षपति राहुल_श्रेष्ठ सम्मान