खेल

सुखद बनेन मेसीको पुनरागमन

मड्रिड – अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले ग्रोइनको समस्याका कारण यसै साता मोरक्कोविरुद्ध हुने मैत्रीपूर्ण खेल गुमाउने भएका छन्।

मेसी शुक्रबार भेनेजुएलाविरुद्धको मैत्रीपूर्ण खेलसँगै यस वर्ष पहिलो पटक राष्ट्रिय टोलीबाट मैदान उत्रिएका थिए। तर शुक्रबार भेनेजुएलालाई ३–१ को नतिजा सुम्पिएसँगै मेसीको २०१८ को रूस विश्वकपपछि राष्ट्रिय टोलीमा पुनरागमन सुखद बन्न सकेन।

विश्वकपको अन्तिम १६ मा फ्रान्ससँग निराश हुँदै प्रतियोगिताबाट बाहिरिएपछि अर्जेन्टिनाले खेलेका ६ मैत्रीपूर्ण खेलमा मेसी अनुपस्थित रहँदै आएका थिए। त्यस्तै गोन्जालो मार्टिनेज पनि तिघ्राको चोटका कारण अर्को खेलमा अनुपस्थित हुने भएका छन्।

खेलको छैटौं मिनेटमा सोलोमन रोन्डनले गरेको गोलमा भेनेजुएलाले अग्रता लिएको थियो। मध्यान्तर हुन एक मिनेट बाँकी हुँदा जोन मुरिलोले बललाई पोस्टको दिशा दिँदै भेनेजुएलाको अग्रता दोब्बर पारेका थिए। २३ वर्षे मुरिल्लोले भेनेजुएलाबाट १७ खेलमा यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो।

५९औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काउने प्रयास गरेका थिए। खेल सकिन १४ मिनेट बाँकी हुँदा जोसेफ मार्टिनेजले बललाई जाली चुमाउँदै भेनेजुएलाको सहज जित पक्का गरेका थिए।

शुक्रबार भएको अन्य मैत्रीपूर्ण खेलमा पेरूले पाराग्वेलाई १–० ले हरायो। पेरूको जितमा क्रिस्टियन क्वेभाले गरेको एक मात्र गोल पर्याप्त बन्यो।

त्यस्तै मेक्सिकोले चिलीलाई ३–१ ले निराश पार्याे। मेक्सिकोको जितमा राउल जिमिनेज, हेक्टर मोरिनो र हार्भिङ लोजानोले समान एक गोल गरेका थिए। चिलीका निकोलास कास्टिल्लोले एक गोल गरे पनि यो टोलीको हार टार्न पर्याप्त भएन।

 

प्रकाशित: १० चैत्र २०७५ ०४:२० आइतबार

अर्जेन्टिना लियोनल_मेसी पुनरागमन