काठमाडौं – भरपर्दा खेलाडीलाई विश्राम दिएको खेलमा नेपालको यु–१९ क्रिकेट टोलीले भारतको आन्ध्र प्रदेश यु–१९ टोलीसँगको दोस्रो अभ्यासमा हार बेहोरेको छ। यु–१९ विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटका लागि भारत भ्रमणमा रहेको नेपाल शुक्रबारको अभ्यास खेलमा घरेलु टोलीसँग ७२ रनले स्तब्ध भएको हो।
उक्त खेलमा नेपालका कप्तान रोहित पौडेल, सन्दीप जोरा, कमलसिंह ऐरी र सागर ढकाल जस्ता भरपर्दा खेलाडीलाई विश्राम दिदाँ घरेलु टोलीले शृंखलामा १–१ को बराबरी गर्याे। यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले ६२ रनको जित निकालेको थियो। शुक्रबार आन्ध्र प्रदेशले दिएको २९० रनको विशाल लक्ष्यसहित ब्याटिङ गरेको नेपाल ४५.२ ओभरमा २ सय १७ रनमै अलआउट भयो। घरेलु टोलीका बलर हेमन्थ रेड्डी एक्लैले चार विकेट लिँदै नेपालको इनिङ सस्तैमा रोक्न सफल भए।
नेपालका लागि कुनै पनि ब्याट्सम्यानले आशालाग्दो ब्याटिङ गर्न सकेनन्। नेपालका लागि पवन सर्राफले सर्वाधिक ३५ रन बनाए। पहिलो विकेटको रूपमा आउट हुनुअघि सर्राफले रित गौतमसँग ६५ रनको साझेदारी गरेका थिए।
नेपालको खातामा थप चार रन जोड्दा रित पनि २१ रनमा पवेलियन फर्किए। त्यस्तै कुशल मल्ल ३०, आसिफ शेख २५, अभिषेक बस्नेत २३ र लोकेश बम १६ रन बनाएर आउट हुँदा रासिद खान ३४ रनमा अविजित रहे पनि नेपाललाई जित दिलाउन सकेनन्। ७ ओभर बलिङ गरेका हेमन्थ रेड्डीले ३४ रन खर्चिंदै ४ विकेट निकाले।
टी विजयले दुई विके लिँदा पी तेजस्वी, दीपु भार्घब, दुर्गाकुमार र हर्षवर्धनले समान एक विकेट निकाल्दै नेपालको इनिङ २८ बल बाँकी छँदै समेट्न सफल भए। यसअघि पी तेजस्वीको सतकप्रेरित आन्ध्र प्रदेशले ४९.३ ओभरमा अलआउट हुनुअघि २ सय ८९ रनको विशाल योगफल तयार पार्याे। तेजस्वीले १ सय १६ रनको योगदान दिँदा घरेलु टोलीलाई विशाल लक्ष्यतर्फ डोर्याएका थिए।
अन्य ब्याट्सम्यानले झिनो व्यक्तिगत रन बनाए पनि घरेलु टोलीलाई विशाल लक्ष्यका लागि पर्याप्त रह्यो। नेपालको बलिङमा सूर्य तामाङले ३ विकेट लिँदा प्रतिस जिसी, आकाश चन्द, कुशल मल्ल र शेर मल्लले समान एक विकेट निकाल्दै घरेलु टोलीलाई ३ बल अगावै समेट्न सफल भए। तर, किफायती बलिङ गर्न नसक्दा घरेलु टोलीले विशाल लक्ष्य प्रस्तुत गर्याे।
यु–१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गर्न नेपाली युवा टोली टोलीले भारतको आन्ध्र प्रदेशको यु–१९ टोलीसँग थप तीन अभ्यास खेल खेल्नेछ। अप्रिल दोस्रो साताबाट आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले चुनौती प्रस्तुत गर्नेछन्। अप्रिल १० देखि २० सम्म हुने छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर, युएई, कुवेत र ओमान रहेका छन्। विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछन्।
प्रकाशित: ८ चैत्र २०७५ १३:०३ शुक्रबार