खेल

१९ वर्षपछि नेपाल र कुवेत आमनेसामने

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बिहीबार (आज) नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। दुई मैत्रीपूर्ण खेल खेल्न कुवेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो। खेल नेपाली समयअनुसार राति ९ः१५ बाट सुरु हुनेछ। 

१९ वर्षपछि नेपाली राष्ट्रिय फुटबल टिमले यो सिजनको पहिलो मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यसअघि सन् २००० मा भएको एएफसी एसिया कपका खेल्दा कुवेतसँग नेपाल ५–० ले पराजित भएको थियो। कुवेतमा भएको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक योहान कालिनले आफ्नो टिम जित्नका लागि कुवेत आएको बताए।

यसै खेलबाट नेपाली फुटबल टिमको प्रशिक्षणको औपचारिक यात्रा सुरु गरेका कालिनले कुवेत राम्रो टिम भए पनि आफू टिमका बारेमा पूर्ण जानकार नभएको बताए। उनले नेपाली टिममा यसपटक युवा खेलाडीको बाहुल्यता रहेकाले उनीहरूको खेल परिक्षण हुने बताए।

प्रशिक्षक कालिनले राष्ट्रिय टिमका मुख्य ६ खेलाडी यु–२३ प्रतियोगिताका लागि कतार गएकाले पनि टिमलाई दबाब हुने बताए। तर, आफ्नो टिमले राम्रो खेलेर कुवेतलाई चुनौती दिने उनले बताए। राष्ट्रिय टोली र यु–२३ टोलीको खेल एकै समय भएपछि राष्ट्रिय टोलीमा रहँदै आएका केही युवा खेलाडी यु–२३ टोलीमा व्यस्त छन्।

प्रशिक्षक कालीनले यसकारण युवा खेलाडीलाई बाहिर राख्दै टोलीको घोषणा गरेका थिए। विमल घर्ति मगर, अनन्त तामाङ, अन्जन विष्ट, सुनील बल, दिनेश राजवंशी, तेज तामाङलगायत खेलाडीले यसअघि राष्ट्रिय टोलीको पहिलो रोजाइमा नै खेल्दै आएका थिए।

कुवेत फुटबल संघ ३ पटक फिफाको निलम्बनमा परिसकेको छ भने टिममा युवा भन्दा पनि अनुवभी र नेपाल भन्दा तुलनात्मक रुपमा पाका खेलाडीको बाहुल्यता छ। नेपाली टिमका कप्तान विराट महर्जनले जितका लागि मैदान उत्रने बताए। कुवेतलाई पराजित गर्नेमा आफू विश्वस्त रहेको उनी बताउँछन्।

यता कुवेतका प्रशिक्षकले टिमले पछिल्लो ६ महिनादेखि प्रशिक्षण गरिरहे पनि औपचारिक खेल खेल्न नपाएको बताए। कुवेतका खेलाडीमा फुटबल प्रतिको सम्मान भएकाले नै टिम राम्रो भएको उनले जानकारी दिए।

विश्वकप खेलिसकेको र एसिया कप जितिसकेको कुवेत फिफा बरियतामा नेपाल भन्दा ३ स्थान माथि छ। सन् १९८२ मा वाइबी घलेले कुवेतविरुद्ध गरेको गोल नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल थियो। नेपालले दोस्रो खेल आइतबार खेल्नेछ। 

नेपाली टोली
गोलकिपरः
किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ

डिफेन्डरः रोहित चन्द, विराज महर्जन (कप्तान), देवेन्द्र तामाङ, रञ्जित धिमाल, अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा र सरोज दाहाल, 

मिडफिल्डरः बिशाल राई, बिक्रम लामा, हेमन गुरुङ, सुजल श्रेष्ठ, टंक बस्नेत, रवि पासवान र सन्तोष तामाङ

स्ट्राइकरः भरत खवास, नवयुग श्रेष्ठ, रन्जन विष्ट, सुमन लामा, विमल राना र आशिष लामा

 

प्रकाशित: ७ चैत्र २०७५ ०५:३४ बिहीबार

मैत्रीपूर्ण_खेल फुटबल नेपाल कुवेत