खेल

आठौं राष्ट्रिय खेलकुद अझै अन्योलमा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन स्थल नेपालगन्ज रंगशाला।    तस्बिर : अर्जुन ओली/नागरिक

नेपालगन्ज –  पाँच नम्बर प्रदेशमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नतोकिँदा अन्योलता छाएको छ। प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण कार्य पूरा नहुँदा मिति तोक्न ढिलाइ भएको हो। प्रतियोगिताको मिति नतोकिँदा अन्योल छाएको खेलाडी तथा प्रशिक्षकहरू बताउँछन्। 

‘मिति नतोकिँदा प्रतियोगिता हुने–नहुने अन्योलता छाएको छ,’ एक प्रशिक्षकले नाम नछाप्ने सर्तमा भने, ‘प्रतियोगिता गराउने नै भए पनि राष्ट्रिय खेलकुद परिषद्ले मिति तोकिदिए ढुक्क हुन सकिन्थ्यो।’ राखेपले प्रतियोगिताको मिति नतोके पनि चैतको अन्तिम सातातिर गर्ने आन्तरिक तयारी गरेको स्रोतले जनाएको छ। यद्यपि प्रतियोगिताको मितिबारे राखेपले औपचारिक रूपमा जानकारी गराएको छैन।

प्रतियोगिता उद्घाटन स्थल नेपालगन्ज रंगशालाको ‘भिआइपी प्यारापिट’ अझै निर्माण भएको छैन। ठेकेदार ‘सुनकोसी वल्र्डवाइड कम्पनी’ ले निर्माण गर्ने जिम्मा लिएको भिआइपी प्यारापिट तोकिएको समयभित्र सम्पन्न हुन नसकेको हो। तीन हजार ५ सय क्षमताको उक्त प्यारापिट फागुन ३ गतेभित्र सम्पन्न गरिसक्ने ठेकेदारले यसअघि लिखित सम्झौता गरेको थियो। तर, उक्त सम्झौताअनुसार काम नसकेपछि ठेकेदारले पुनः म्याद थपेर अहिले फाउन्डेसनको काम गरिरहेको प्रदेश खेलकुद विकास समिति नेपालगन्जका अध्यक्ष भीम ओलीले बताए। 

भिआइपी प्यारापिटमा भएको ढिलाइकै कारण प्रतियोगिताको मिति अहिलेसम्म नतोकिएको उनले सुनाए। ‘भिआइपी प्यारापिटको फाउन्डेसनको काम अन्तिम चरणमा पुगेको छ, ठेकेदार सुनकोसी वल्डवाइड कम्पनीले फाउन्डेसनको काम गरिरहेको छ, तर उसले प्यारापिट जडान गर्ने जिम्मा मलेसियन ठेकेदार कम्पनीलाई दिएको छ,’ ओलीले भने ‘मलेसियन कम्पनीले चीनबाट सामान ल्याएर जडान गर्ने हो, दुई ठेकेदार कम्पनीबीचको समस्याले समयमा भिआइपी प्यारापिटको काम सम्पन्न हुन सकेन।’ प्यारापिटको सामान बाटोमै रहेको हुँदा चैत ६ गतेबाट जडानको काम सुरु हुने उनले विश्वास लिएका छन्। प्रतियोगिताको मिति चैतको अन्तिम सातातिर तोक्ने मोटामोटी छलफल भए पनि राखेपले निर्णय नगरेको उनले बताए। प्यारापिट जडानको काम करिब १५ दिनमा सम्पन्न हुने सम्बद्ध प्राविधिक बताउँछन्। 

राखेपका इन्जिनियर विश्वामित्र सन्ज्यालले ‘भिआइपी प्यारापिट’ निर्माणको ढिलाइले समस्या निम्त्याएको बताए। ‘भिआइपी प्यारापिटको सामान बिहीबार बेलुकासम्म नेपाल–चीनको सीमासम्म आइपुग्ने खबर आएको छ, दुई दिनजति भन्सारमा समय लाग्ला,’ उनले नागरिकसँग भने ‘त्यहाँबाट चैत ३ गतेसम्म फिल्डमा सामान आइपुग्यो भने जडान गर्ने समय १५ दिन जति लाग्छ, चैत २० गतेभित्र भिआइपी प्यारापिटको सबै काम सम्पन्न गर्ने हाम्रो टार्गेट छ।’ नेपालगन्ज रंगशाला जाने बाटो साँघुरो र बढी घुमाउरो भएका कारण सामान बोकेका कन्टेनर लैजान समस्या हुने हो कि भन्ने चिन्ता लागेको इन्जिनियर सन्ज्यालले सुनाए। अन्य भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले भिआइपी प्यारापिट बनेपछि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन गर्न सकिने बताए। 

प्रतियोगितालाई लक्षित गरी निर्माण सुरु गरिएका अन्य केही भौतिक पूर्वाधार पनि सम्पन्न भएका छैनन्। दाङको बेलझुन्डी रंगशाला निर्माणको काम पनि अहिलेसम्म अधुरै रहेको छ। उक्त रंगशालामा करिब ८० प्रतिशत काम सम्पन्न भएको प्राविधिकले बताएका छन्। खेलकुद विकास समितिका अनुसार नेपालगन्ज रंगशालामै रहेको पौडी पोखरीको काम ७० प्रतिशत मात्र सम्पन्न भएको छ। बर्दियाको बाँसगढीमा निर्माणाधीन कबड्डी खेलको कभर्डहलको काम ८५ प्रतिशत भएको छ। यस्तै गुलरियामा रहेको ‘सेपाकताक्रो’ खेलका लागि निर्माणाधीन कभर्डहल तथा नेपालगन्जमा रहेको जुडो कभर्डहलको काम ८५–८५ प्रतिशत सम्पन्न भएका छन्। 

प्रतियोगिताका लागि पुनःनिर्माण गरिएको नेपालगन्ज रंगशाला मैदान, सोही स्थानमा ६५ सय क्षमताको दर्शक प्यारापिट, नेपालगन्जमै सुटिङ रेन्ज, भारत्तोलन एकेडेमी भवन, कोहलपुरस्थित क्रिकेट मैदान, दाङको लमहीमा रहेको क्रिकेट मैदान, घोराहीमा बासकेटबल कोर्ट, बाँकेको खजुरामा भलिबल स्टेडियम, बर्दियाको भुरीगाउँमा खोखो खेलको कभर्डहल, रूपन्देहीमा लनटेनिस कोर्ट, कपिलवस्तुमा कुस्ती खेलका लागि मायादेवी खेल मैदान निर्माण सम्पन्न भइसकेको ओलीको दाबी छ। 

पूर्वाधार निर्माणको कामसँगै प्रतियोगिताको अन्य तयारी पनि अगाडि बढाइएको उनले बताए। प्रतियोगितामा सहभागी हुने देशभरबाट ३१ हजार खेलाडीले फाराम भरेका छन्। त्यसमध्येबाट २२ हजार खेलाडी ७ वटा प्रदेशमा छनोट हुनेछन्, भने आठौं राष्ट्रिय प्रतियोगितामा साढे ८ हजार खेलाडी सहभागी हुने राखेपले जनाएको छ। आठौं खेलकुदको तयारीस्वरूप जिल्ला छनोट सम्पन्न भई प्रदेश पाँचबाहेक अन्य सबै प्रदेशले पनि खेलाडी छनोट गरिसकेको अध्यक्ष ओलीले जनाए। ‘प्रदेश खेलाडी छनोट भइसकेको हुँदा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने कुरालाई निश्चित गरायो,’ उनले भने ‘खेलाडी छनोटमै राज्यको ठूलो रकम लगानी लागिसकेको अवस्थामा प्रतियोगिता हुनेमा कुनै शंका छैन।’ 

राखेपका अनुसार प्रतियोगिताका लागि प्रदेश खेलाडी छनोटमा २१ करोड र जिल्ला छनोटमा ४ करोड रुपैयाँ लगानी लागेको छ। समय तालिकाअनुसार आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकिने र तोकिएकै मितिमा प्रतियोगिता उद्घाटन गरिने प्रतियोगिताका कार्यसमिति सदस्य ओलीले ठोकुवा गरे। 

प्रकाशित: १ चैत्र २०७५ ०४:२७ शुक्रबार

आठौं_राष्ट्रिय_खेलकुद नेपालगन्ज_रंगशाला मिति भौतिक_पूर्वाधार