खेल

स्मिथ र वार्नर तत्कालै टिममा नफर्किने

सिड्नी – पाकिस्तानविरुद्ध यही मार्चमै हुने पाँच एकदिवसीय खेलका लागि पूर्वकप्तान स्टिभ स्मिथ र पूर्वउपकप्तान डेभिड वार्नरको नाम हटाइएको छ। 

दक्षिण अफ्रिकाविरुद्ध गत वर्ष भएको टेस्ट खेलमा बल टेम्परिङ घटनापछि कारबाही भोगिरहेका खेलाडीद्वय स्मिथ र वार्नर पाँचमध्ये अन्तिम दुई एकदिवसीय क्रिकेटका लागि मात्र योग्य हुनेछन्। बल टेम्पिरिङ घटनामा मुछिएको भन्दै क्रिकेट अस्ट्रेलिया (सिए)ले दुवैलाई एक वर्षको प्रतिबन्धको सजाय सुनाएको थियो। प्रतिबन्धमा रहेका दुवै खेलमा फर्किन संघर्षरत छन्। 

अस्ट्रेलियन टोलीका छनोटकर्ता ट्रिभोर हन्सले उनीहरूको पुनरागमन भारतमा हुने ट्वान्टी–२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल)बाट हुने बताए। आइपिएल यही मार्च २३ बाट भारतमा आयोजना हुँदै छ। प्रतिबन्धमा परेका स्मिथले राजस्थान रोयल्सबाट खेल्नेछन् भने वार्नर अर्को टोली सनराइजर्स हैदराबादबाट खेलमा फर्किनेछन्। 

‘क्रिकेट अस्ट्रेलियाले भारतमा हुने आइपिएलमा स्टिभ र वार्नको खेल निरीक्षण गर्दै व्यक्तित्वबारे अध्ययन गर्नेछ। उक्त प्रदर्शनपछि मात्र विश्वकप क्रिकेट र इङ्ल्यान्डविरुद्ध हुने टेस्टबारे सोच्नेछौं,’ टोलीका छनोटकर्ता हन्सले भने, ‘स्मिथ र वार्नरको बारेमा पाकिस्तानविरुद्ध दुबईमा हुने पाँच एकदिवसीय शृंखलापछि मात्र प्रमुख प्रशिक्षक जस्टिन ल्यांगरसँग परामर्श लिइनेछ।’

प्रतिबन्धमा परेका दुवै इङ्ल्यान्डमा हुने विश्वकप क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय मैदानमा देखिनेछन्। विश्वकप अभ्यासमा उनीहरू मे २५ तारिखमा इङ्ल्यान्डविरुद्ध खेलमा फर्किने सम्भावना छ। जुन १ मा अफगानिस्तानसँग खेल्दै विश्वकपको सुरुआत गर्ने अस्ट्रेलियाले त्योभन्दा पहिले श्रीलंकासँग वार्मअफ खेल खेल्नेछ। अस्ट्रेलियाले अगस्ट १ बाट इङ्ल्यान्डसँग टेस्ट खेल खेल्दै छ। 

प्रकाशित: २८ फाल्गुन २०७५ ०४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App