खेल

पोखरा फुटबल रंगशालाको शिलान्यास

पोखरा रंगशालानको शिलान्यास गर्ने क्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा। तस्बिर : उमेश पुन/नागरिक

पोखरा - पोखरा फुटबल रंगशाला निर्माणको काम सुरु गरिएको छ । ठेक्का सम्झौताको दुई महिनापछि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आइतबार शिलान्यास गर्दै तोकिएकै मितिमा रंगशालको निर्माण कार्य पूरा गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिए।

‘१८ हजार ५ सय सिट क्षमताको प्यारापिटसहितको स्टेडियम बनाउनेछौं, जुन नेपालकै ठूलो र आधुनिक रंगशाला हुनेछ।’

‘हामीलाई साग गेम्स गर्नुपर्ने जिम्मेवारी छ। प्रतिष्ठाको विषय पनि हो । भौतिक पूर्वाधार तोकिएकै मितिमा पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व छ’, मन्त्री विकले भने, ‘तोकिएकै मितिभित्र निर्माण गरेर हस्तान्तरण गर्नुहुनेछ भन्नेमा विश्वस्त छौं ।’ उनले तोकिएकै मितिमा पूरा गर्दै कुशल निर्माणको परिचयलाई अझ उजिल्याउने काम गर्नुपर्ने भन्दै कम्पनी नै अनुहार रातो बनाएर जाने वातावरण कतैबाट सिर्जना हुन नहुने  बताए। 

‘वातावरणीय प्रतिकूलताको उल्झन आउने छैन । सहज वातावरणमा निर्माण गर्न दिनुपर्छ,’ उनले भने, ‘त्यस्तो उल्झनको वातावरण कहीँ कतैबाट नहोस्। त्यसप्रति सरकार गम्भीर छ ।’ पोखरामा रंगशाला निर्माणसँगै निर्माण भएका अन्य भौतिक पूर्वाधारले स्पोटर्््स टुरिजम सिटीको रूपमा विकास गर्न सहज हुने उनले विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय मापदण्ड बिट गर्ने गरी संरचना बनाउनुपर्नेमा मन्त्री विकको जोड थियो। 

शिलान्यास समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पोखरा रंगशालालाई अब नयाँ मास्टर प्लान बनाई कार्ययोजना बनाउनुपर्ने बताए। ‘पुरानो मास्टर प्लान परिवर्तन गर्नुपर्छ । हिजोको आवश्यकताअनुसार बनाइएको थियो । अब अहिलेलाई हेरेर भविष्यका लागि बनाउन जरुरी छ,’ उनले भने, ‘त्यो गुरुयोजना बरु पूरा हुने १०/१५ वर्ष नै लागोस्।’

उनले पोखरालाई माछापुच्छ्रे र फेवाताललाई देखाएर मात्रै परिचय नहुने भन्दै अब पोखराको परिचय खेलकुद सहरको रूपमा हुने अभिव्यक्ति दिए । ‘खेलकुदको पूर्वाधार बनाई पोखरालाई स्पोर्ट्स टुरिजम सिटी बनाउनुपर्छ,’ उनको भनाइ थियो । उनले पोखरा रंगशालाको फुटबल स्टेडियम आगामी असार मसान्तभित्रमा पूरा गर्नुपर्ने जिम्मेवारी कम्पनीको रहेको बताए। 

‘१८ हजार ५ सय सिट क्षमताको प्यारापिटसहितको रंगशाला बनाउनेछौं’, उनले भने, ‘जुन नेपालकै ठूलो र आधुनिक रंगशाला बन्नेछ ।’ सदस्यसचिव विष्टले पोखरा रंगशाला निर्माणबारे अख्तियारमा उजुरी परेको उल्लेख गर्दै अख्तियारले क्लिन चिट दिन गरेको ढिलाइले निर्माणको काम ढिला हुन गएको जिकिर गरे । एक अर्ब २८ करोड २२ लाखको लागत अनुमान गरिएपछि १ अर्ब ३० करोडमा निर्माण पूरा हुने विश्वास दिलाए । उनले ३० हजार दर्शक क्षमता बढाउन मिल्ने गरी पूर्वाधार बनाइने दाबी गरे। 

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा फुटबल रंगशाला निर्माणका लागि भारतीय कम्पनी ग्रेट स्पोटर््स एन्ड एमए कन्स्ट्रक्सन जावलाखेल ललितपुर (जेभी) सँग सम्झौता गरी जिम्मेवारी सुम्पिसकेको छ । सम्झौता भएको दुई महिनापछि शिलान्यास गर्दै एमए कन्स्ट्रक्सन कम्पनीका अनुप आचार्यले प्राकृतिक र प्राविधिक समस्या नभए तोकिएकै मितिमा स्टेडियम निर्माण पूरा गर्ने प्रतिबद्धता जनाए। ‘हामी निश्चित समयभित्रै प्राकृतिक र प्राविधिक समस्या नआए स्टेडियम हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउँछौं,’ उनले भने। 

फुटबल मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्डअनुसार १०५ मिटर लम्बाइ ६८ मिटरको चौडाइ हुनुपर्नेछ । मैदान टर्फ अथवा प्राकृतिक राख्ने तय गरिएको छ । एथलेटिक्सका लागि सिन्थेटिक ट्य्राक हुनुपर्ने उल्लेख छ । ४ सय मिटरको आठ लेनको सिन्थेटिक ट्य्राक हुनुपर्नेछ । ठेक्का सम्झौता भएपछि पोखरा रंगशालामा दुई ठूला फुटबल प्रतियोगिताले झन्डै डेढ महिनाको समय लम्ब्याइदिएको थियो । टेन्डर सम्झौता भएपछि माघ १५ गतेदेखि मनकामना केबलकार फुटबल प्रतियोगिता र फागुन ९ गतेदेखि सञ्चालन हुने आहा रारा गोल्डकप प्रतियोगिताले केही ढिलाइ हुन पुग्यो। 

स्टिल मोडुलर सिस्टमको रंगशाला नेपालमै पहिलो हुने कम्पनीको दाबी छ। सिन्थेटिक ट्य्राक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट आउनेछ । प्रदेश सदस्य राजीव पहारीले पोखरालाई स्पोटर्््स टुरिजम सिटी बनाउनुपर्ने बताउँदै त्यसका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने उल्लेख गरे । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले निर्माणाधीन प्रोजेक्टलाई असर पर्ने गरी कुनै पनि गतिविधि सञ्चालन गर्न नहुने भन्दै सबै संघसंस्थाले रंगशाला निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिए । ‘सबै संघसंस्थाले सहयोग गर्नुपर्छ । अहिले बनेन भने कहिल्यै पनि बन्दैन । त्यसैले अवरोध हुने गरी काम कतैबाट गरिनु हुँदैन,’ उनले भने, ‘कामको अनुगमन सबै क्षेत्रबाट गरिनुपर्छ । समयमै काम सक्न खेलकुदप्रेमीले दबाब दिनुपर्छ।’ 

पोखरा रंगशालाको ४ सय १७ रोपनी जग्गा छ । क्रिकेट, स्विमिङपुल, सडक, मार्सल आर्ट कभर्ड हल बनाउन बाँकी छ । आर्चरी, लनटेनिस, बहुउद्देश्यीय कभर्ड हल, ब्याडमिन्टन कभर्ड हल निर्माणाधीन छन् । साग गेमलाई लक्षित गरी आर्चरी, कभर्ड हल र टेनिस कोर्टको काम भइरहेको छ । स्क्वासका लागि आवश्यक पूर्वाधारसमेत बनाइएको छ। 

पोखरा रंगशालाभित्र अहिले साढे १५ करोडको लागतमा बहुउद्देश्यीय कभर्ड हल, दुई करोडको लागतमा आर्चरी मैदान, साढे दुई करोडमा टेनिसको हार्ड कोर्ट, क्ले कोर्ट र चेन्जिङ रुमसहित प्यारापिट निर्माणाधीन, साढे तीन करोडको लागतमा निर्माणाधीन चारकोर्ट युक्त ब्याडमिन्टन कभर्ड हल, सवा करोडको लागतमा भलिबल प्रशिक्षण केन्द्र र ९० लाखको लागतमा ह्यान्डबल खेलमैदान निर्माण गरिएको छ।

 

प्रकाशित: २७ फाल्गुन २०७५ ०३:३३ सोमबार

पाेखरा_रंगशाला निर्माण शिलान्यास