खेल

अफगानिस्तानको फराकिलो जित

देहरादून - कप्तान अस्घर अफगान, मोहम्मद नावी र रसिद खानको अर्धशतकप्रेरित अफगानिस्तानले आयरल्यान्डविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा शुक्रबार १ सय ९ रनको फराकिलो जित निकालेको छ।

शीर्ष क्रमका ब्याट्सम्यान सस्तैमा आउट हुँदा तीन ब्याट्सम्यानले महत्वपूर्ण अर्धशतक बनाएपछि अफगानिस्तानले फराकिलो जित निकाल्दै पाँच खेलको शृंखलामा २–१ को अग्रतासमेत बनाएको छ । पहिले ब्याटिङ गरेको अफगानिस्तान एक समय ६ विकेट गुमाउँदा ८१ रनको नाजुक अवस्था थियो । तर अफगान, नावी र खान चम्केपछि अफगानिस्तानले ४९.१ ओभरमा समेटिनुअघि २ सय २३ रनको मध्यम स्कोर खडा गर्यो।

तर, बलिङमा यादगार प्रदर्शन गरेको अफगानिस्तानले ३५.३ ओभरमा आयरल्यान्डलाई १ सय १४ रनमा समेट्दै शृंखलामा अग्रतासमेत लियो । अफगानिस्तानको बलिङमा तीव्र गतिका बलर अफ्ताब आलमले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । निकै किफायती बलिङ गरेका आलमले ८ ओभरमा दुई मेडन राख्दै २५ रन मात्र खर्चिए। 

अफ्ताबले आयरल्यान्डका ओपनर विलियम पोर्टरफिल्डलाई २१ रनमा एलबिडब्लुको सिकार बनाउँदै अफगानिस्तानलाई पहिलो सफलता दिलाएका थिए । ५.४ ओभरमा खातामा ३१ रन हुँदा पहिलो विकेट गुमाएको आयरल्यान्डले त्यसपछि खासै राम्रो साझेदारी बनाउन नै सकेन । आयरल्यान्ड खातामा थप दुई रन जोड्दा दुई विकेट नै गुमाएपछि दबाबमा पर्यो।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका एन्डी बलबिर्नी ६.३ ओभरमा खाता नखोल्दै आउट हुँदा पाँचौं बलमा पाउल स्टर्लिङ पनि ११ रन पवेलियन फर्किए । चौथो विकेटका लागि सिमी सिंह र केभिन ओ ब्रायनले ३३ रन जोड्दै आयरल्यान्डको इनिङ उकास्ने प्रयास गरे । तर, अलराउन्ड प्रदर्शन गर्ने क्रममा रसिद खानले सिंहलाई २० रनमा आउट गर्दै त्यो साझेदारी तोडे। 

२५.६ ओभरमा जर्ज डकरेल ८ रनमा आउट हुँदा ५ विकेटको क्षतिमा आयरल्यान्डको खातामा ८२ रन थियो । आयरल्याडले थप ३२ रन जोड्दा पाँच विकेट गुमाउँदै अफगानिस्तानलाई नतिजा सुम्पियो । अफगानिस्तानका बलर रसिद खान र मुजिब रहमानले समान दुई विकेट लिँदा गुल्बदिन नैब र मोहम्मद नाबीले समान एक विकेट निकाल्दै आयरल्यान्डलाई सस्तैमा समेटे।

त्यसअघि ब्याटिङ गरेको अफगानिस्तानका लागि नाबीले सर्वाधिक ६४ रनको योगदान दिए । आठौं नम्बरमा ब्याटिङ गर्न आएका नाबीले ८५ बलमा ६ चौका प्रहार गर्दै अफगानिस्तानको इनिङ उकासे । नवौं नम्बरमा ब्याटिङ गर्न आएका रसिद खानले पनि ५२ रन बनाए । अन्तिम विकेटका रूपमा आउट भएका खानले ५८ बलमा ६ चौका र एक छक्का हिर्काए।

‘शीर्ष ब्याट्सम्यानले निकै खराब प्रदर्शन गरे,’ अफगानिस्तानका कप्तान अफगानले भने, ‘तर नवौं नम्बरमा ब्याटिङमा आएका रसिदले उत्कृष्ट ब्याटिङ गर्दै राम्रो स्कोरतर्पm अगाडि बढाए । सोही मद्दतमा जित निकाले पनि आगामी खेलमा शीर्ष क्रम केही परिवर्तन गर्नेछौं ।’ कप्तान अफगानले पनि ५४ रनको अर्धशतकीय योगदान दिएका थिए। 

सातौं विकेटका रूपमा रनआउट हुनुअघि अफगानले ७० बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । आयरल्यान्डको बलिङमा जेम्स क्यामरुनले तीन विकेट लिँदा एन्डी म्याकब्रिनी र बोयड र्‍याङकिनले समान दुई विकेट निकाल्दै अफगानिस्तानलाई इनिङ समाप्तिको पाँच बलअगावै समेट्न सफल भए। 

आयरल्यान्डका कप्तान विलियम पोर्टरफिल्डले निराशाजनक ब्याटिङ प्रदर्शन हुँदा हार बेहोरेको बताए। ‘बलरले निकै राम्रो प्रदर्शन गरे,’ कप्तान पोर्टरफिल्डले भने, ‘तर ब्याटिङमा साथ नपाउँदै शृंखलामा पछाडि पर्‍यौं।’ आयरल्यान्डले पाँचौं तथा निर्णायक एकदिवसीय क्रिकेट आइतबार देहरादूनमै खेल्नेछ। 

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०३:०० आइतबार

अफगानिस्तान आयरल्यान्ड एकदिवसीय