खेल

इङ्ल्यान्डद्वारा शृंखला कब्जा

फागुन - क्रिस जोर्डनको उत्कृष्ट बलिङप्रेरित इङ्ल्यान्डले शुक्रबार दोस्रो खेलमा वेस्ट इन्डिजमाथि १ सय ३७ रनको फराकिलो जित हात पार्दै तीन खेलको अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला जितेको छ।

इङ्ल्यान्डले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ११.५ ओभरमा मात्र ४५ रनमा सीमित बनेको थियो । ट्वान्टी–२० क्रिकेट इतिहासको यो सबैभन्दा कम योगफल हो । यसअघि २०१४ मा नेदरल्यान्ड्स श्रीलंकाविरुद्ध ट्वान्टी–२० क्रिकेट इतिहासकै न्यून स्कोर ३९ रनमा सीमित बनेको थियो ।

जोर्डनले ३ ओभरमा ६ रन खर्चंदै ४ विकेट लिएसँगै वेस्ट इन्डिजको इनिङ धराशयी बनेको थियो । यस जितसँगै इङ्ल्यान्डले २–० को अग्रताका साथ शृंखलामा कब्जा जमाएको हो । वेस्ट इन्डिजका कार्लोस ब्राथवाइट र सिमरोन हेटमेयरले समान १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । १३ रन जोड्दा ओपनर क्रिस गेललाई गुमाएको वेस्ट इन्डिजले थप १ रन जोड्दा अर्का ओपनर साइ होपलाई गुमाएको थियो । गेल र होपलाई डेविड वेल्लीले तेस्रो ओभरको तेस्रो र पाँचौं बलमा पवेलियनको बाटो देखाएका थिए । त्यसपछि ब्याटिङका लागि आएका डारेन ब्राभो र कप्तान जेसन होल्डर खाता नखोल्दै तथा निकोलास पुरन र फाबियान एलेन मात्र १ रन जोड्दै पवेलियन फर्किएपछि वेस्ट इन्डिज पूर्ण रूपमा दबाबमा परेको थियो।

चौथो ओभरको चौथो बलमा ब्राभोलाई विकेटकिपर जोनी बेयरस्टोबाट क्याच गराएका जोर्डनले होल्डरलाई एलबिडब्लुको सिकार बनाएका थिए । जोर्डनले आफ्नो अघिल्लो ओभरमा पनि उत्कृष्ट लयलाई निरन्तरता दिँदै थप २ विकेट लिए । छैटाैं ओभरको पहिलो बलमा पुुरनलाई बेयरस्टोबाट क्याच गराएका जोर्डनले पाँचौं बलमा एलेनलाई जो रुटबाट क्याच गराए। हेटमेयर र ब्राथवाइटले साताैं विकेटका लागि १० रनको साझेदारी गर्दै वेस्ट इन्डिजको इनिङ सम्हाल्ने प्रयास गरे पनि त्यो पर्याप्त भएन । वेस्ट इन्डिजले १२ रन जोड्दा अन्तिम ४ विकेट गुमाएसँगै लज्जास्पद हार बेहोर्न बाध्य भएको थियो ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रनको योगफल तयार पारेको थियो । इङ्ल्यान्डका साम विलिङ्सले ८७ र रुटले ५५ रनको योगदान गरेका थिए ।४७ बल खेलेका विलिङ्सले १० चौका र ३ छक्का प्रहार गर्दा रुटले ४० बलमा ७ छक्का प्रहार गरे ।

३२–२ को स्थितिमा ब्याटिङका लागि आएका रुट र विलिङ्सले पाँचाैं विकेटका लागि ८२ रनको साझेदारी गर्दै इङ्ल्यान्डको इनिङ उकासेका थिए।

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०१:५१ आइतबार

इङ्ल्यान्ड वेस्ट_इन्डिज शृंखला