खेल

लियोनल मेस्सी पुनः राष्ट्रिय टोलीमा !

काठमाडौं – अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले राष्ट्रिय फुटबल टोलीमा कमब्याक गरेका छन्। सन् २०१८ को रसिया विश्वकपपछि राष्ट्रिय टिमबाट बाहिर रहेका मेस्सीलाई भेनेजुएला र मोरक्कोविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलीमा बोलाइएको हो।

स्पेनिस क्लब बार्सिलोनाका ३१ वर्षे स्ट्राइकर मेस्सी पछिल्लो ६ वटा मैत्रीपूर्ण खेलमा टोलीमा थिएनन्। पाँच पटकका फिफा वर्ष खेलाडी मेस्सी विश्वकप फुटबलको अन्तिम १६ बाट अर्जेन्टिना बाहिरिएपछि मेस्सी राष्ट्रिय टिमको जर्सीमा देखिएका थिएनन्।

मेस्सीसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का मिडफिल्डर एन्जल डी मारियालाई पनि टिममा बोलाइएको छ। उनले पनि रसिया विश्वकपपछि राष्ट्रिय टिमबाट खेलेका थिएनन्। मेस्सी र डी मारियासँगै म्यानचेष्टर सिटीका निकोलस ओटामेन्डी, टोटेनह्यामका हुवान फोयथ, वाटफोर्डका रोबेर्टो पेरीरा र वेष्टह्यामका मानुयल लान्जीनीलाई पनि प्रशिक्षक लियोनेल स्कालोनीले टिममा राखेका छन्।

यता, प्रशिक्षक स्कालोनीले इन्टर मिलानका माउरो इकार्डी, म्यानचेष्टर सिटीका सर्जियो अग्युइरो र चेल्सीका गोञ्जालो हिगुइनलाई भने टोलीमा राखेका छैनन्। अर्जेन्टिनाले मार्च २३ मा भेनेजुएला र २६ मार्चमा मोरक्कोसँग मैत्रीपूर्ण खेल खेल्नेछ। 

 

प्रकाशित: २४ फाल्गुन २०७५ ०५:०६ शुक्रबार

लियोनल_मेस्सी राष्ट्रिय_टोली कमब्याक