खेल

स्क्वाटमा विपासी र ओलिभालाई उपाधि

काठमाडौं - जिमखाना एन्ड मुवाथाईकी विपासी तुलाधर र दी पिजिक्स ओर्कसपकी ओलिभा महर्जनले चौथो अन्तरक्लब महिला स्क्वाट प्रतियोगितामा क्रमश ६० केजी तौलमाथि र ६० केजी तौलमुनिको उपाधि जितेका छन् ।

बिहीबार ललितपुरस्थित लबिम मलमा भएको अन्तिम चरणको खेलमा विपासीले ६० केजीमाथि तौलसमूहमा कुल १ सय ५० केजी तौल उठाउँदै पहिलो स्थान हात पारिन् । ज्यास्मिन फिटनेस एन्ड स्पा तथा आइडिया सपको आयोजनामा भएको प्रतियोगितामा यस पटकबाट प्रतियोगीहरूले पहिलो चरणबाटै आफूले चाहेको तौल उठाउन पाउने नियम बनाइएको थियो ।

सहभागी खेलाडीले दुवै विधामा तीन पटक अवसर प्राप्त गरेका थिए । त्यसमध्ये सहभागीले अन्तिम चरण प्रवेश गर्न कम्तीमा दुई पटक तौल उठाउनुपर्ने थियो । फाइनल चरणमा जसले धेरै तौल उचाल्यो उसले जित्ने थियो । पहिलो प्रयासमा १ सय ३० केजी तौल उठाएकी विपासीले दोस्रो प्रयासमा १ सय ४० केजी तौल उठाइन् । त्यस्तै  दी ओर्क स्टेसनकी उमा महर्जन र नेपाल व्यायाम मन्दिरकी विद्या राईले समान १ सय ४० केजी तौल उठाउँदै दोस्रो र तेस्रो स्थान हात पारे ।

यता ६० केजीमुनि तौलसमूहमा ओलिभाले १ सय २५ केजी तौल उठाउँदै पहिलो स्थान हात पार्दा दी रेस फिटनेसकी अरुणा बस्नेत दोस्रो र रानीपौवा स्पोर्टस क्लब पोखराकी ज्योति थापाले तेस्रो स्थान हात पारे । अरुणा र ज्योति गत संस्करणमा पनि यही विधामा दोस्रो र तेस्रो भएका थिए ।

पहिलो प्रयासमा १ सय २० केजी तौल उठाएकी ओलिभाले दोस्रो प्रयासमा १ सय २५ केजी उठाइन् । तेस्रो चरणमा १ सय ३० केजी तौल उठाउन असफल भए पनि सो विधामा कुनै पनि खेलाडीले १ सय २५ केजीभन्दा माथि तौल उठाउन असफल भएपछि ओलिभा भाग्यमानी बनेकी थिइन् । त्यस्तै अरुणाले पहिलो प्रयासमा १ सय १० केजी उठाउन सफल भए पनि दोस्रो प्रयासमा १ सय १५ केजी तौल उठाइन् ।

पहिलो प्रयासमा ९० केजी तौल उठाउन असफल भए पनि दोस्रो प्रयासमा ९० र अन्तिम चरणमा १ सय केजी तौल उठाउँदै ज्योतिले तेस्रो स्थान पक्का गरेकी हुन् । दुवै विधाका विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार हात पारे ।

प्रकाशित: २४ फाल्गुन २०७५ ००:०९ शुक्रबार

स्क्वाट ओलिभा_महर्जन विपासी_तुलाधर उपाधि