खेल

महिला टोलीमा अटिनन् अनु

फाइल तस्बिर।

काठमाडौं - फागुनको अन्तिम साताबाट नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप प्रतियोगिताका लागि २० सदस्यीय नेपाली महिला टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक हरि खड्काले विराटनगरको सहिद रंगशालामा फागुन २८ देखि चैत ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरेका हुन् । घोषणा गरिएको टोलीमा पूर्वकप्तान अनु लामा अटाएकी छैनन् । बन्द प्रशिक्षणमा रहेका २३ खेलाडीबाट मुख्य प्रशिक्षक हरि खड्काले २० जनाको अन्तिम नामावली सार्वजनिक गरेका हुन् । जसमा अनुसँगै सुनीता चौधरी र विमला चौधरीले टोलीमा स्थान बनाउन सकेनन् । विगत तीन महिनादेखि प्रशिक्षणमा रहेका अनु, विमला र सुनीता बाहिरिएका हुन् । महिला फुटबलको सुरुआतबाट नै खेल्दै आएकी अनु पछिल्लो समय घुँडाको शल्यक्रियापछि टोलीमा फर्किएकी थिइन् ।  सर्वाधिक गोलकर्ता अनुले नेपालमा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगिताबाट संन्यास लिने इच्छा अधुरै भएको बताइन् ।

‘नेपालमा नै भएको अन्तर्राष्ट्रिय प्रतियोगिताबाट संन्यास लिने मनसायमा थिएँ । तर टोलीमा अटाउन सकिनँ,’ अनुले भनिन्, ‘नेपाली महिला टोलीमा सुरुआतबाट नै खेल्दै आएँ । सुखद अन्त्य गर्न चाहन्थें, तर सोचेजस्तो भएन ।’

‘एन्फाले साफ प्रतियोगिताअगाडि फुटबलमा योगदान पुर्याएकालाई सम्मान गर्ने भनेको छ, त्यसमा म पनि छु । सोही अवसरमा संन्यासको घोषणा गर्ने सोचमा छु,’ अनुले भनिन्, ‘फुटबलपछि अब व्यक्तिगत करियरलाई अगाडि बढाउने सोचमा पुगेको छु ।’

घोषणा गरिएको टोलीमा राष्ट्रिय यु–१९ का ६ खेलाडी परेका छन्  । उमेरसमूहबाट रेखा पौडेल, सरु लिम्बु, मञ्जलीकुमारी योञ्जन, पूजा राना, उषा नाथ र अन्जना रानामगर छन् ।

प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेश, भुटान, भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित बंगलादेश र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा प्रत्येक समूह शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

महिला टोली :

गोलकिपर : एन्जिला तेम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ ।

डिफेन्डर : हीराकुमारी भुजेल, गीता राना, पुनम जर्घा मगर, अमृता जैसी, कविता धिमाल, पूजा राना, मनमाया लिम्बु 

मिडफिल्डर : अनिता बस्नेत, दीपा राई, मन्जली योन्जन, शर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी । 

स्ट्राइकर : रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी ।

समूह ‘ए’             समूह ‘बी’

बंगलादेश              भारत

नेपाल                   श्रीलंका

भुटान                  माल्दिभ्स

प्रकाशित: २४ फाल्गुन २०७५ ०२:२७ शुक्रबार

साफ_च्याम्पियनसिप महिला फुटबल