खेल

आरसिटी ‘बी’ डिभिजन च्याम्पियन

काठमाडौं – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्याम्पियन बने पनि रानी पोखरी कर्नर टिम (आरसिटी) ‘ए’ डिभिजनमा भने बढुवा हुन सकेन। लामो समय फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) आफैं विवादको चंगुलमा रुमलिँदा फुटबलको मेरुदण्ड ‘ए’ डिभिजन लिग हुन सकेको थिएन।

नयाँ नेतृत्व आएसँगै चार वर्षपछि लिग आयोजना भयो, लिगको मर्मविपरीत, बिनारेलिगेसनका आधारमा। जसरी ‘ए’ डिभिजन लिगको कर्मकाण्ड पूरा भयो उसरी नै ‘बी’ डिभिजन लिगको पनि कर्मकाण्ड मंगलबार सम्पन्न भयो। यसको अर्थ च्याम्पियन आरसिटीले पुरस्कारमा खुसी हुनुपर्याे भने बढुवा हुनबाट खुम्चिनुसिवाय विकल्प रहेन। 

मंगलबार एन्फा मुख्यालयमा सम्पन्न लिगको अन्तिम खेलमा आरसिटीले श्री भगवतीलाई १–० ले  स्तब्ध पार्दा उपाधि हात लागेको हो। लिगको पहिलो चरणको खेलमा संघर्षपूर्ण तरिकाले दोस्रो चरण प्रवेश गरेको आरसिटीले दोस्रो चरणका खेलमा भने स्पष्ट जित निकाल्दै उपाधि चुम्न सफल भएको हो। 

‘बी’ डिभिजनको उपाधि पक्का गराउन आरसिटीका लोकेन्द्रबहादुर कार्कीले २५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। लोकेन्द्रले हेड गोल गरेका थिए। लोकेन्द्रले उनम बुढाथोकीको कर्नर बललाई सदुपयोग गरेका थिए। 

जितसँगै उपाधि हात पारेको आरसिटीले ८ लाख रुपैयाँ नगद प्राप्त ग¥यो। उपविजेता बनेको श्री भगवतीले भने ५ लाख रुपैयाँमा चित्त बुझायो। यसअघि दोस्रो चरण प्रवेश गरे पनि सातदोबाटो र टुसाल युथ क्लब पहिलो चरणको खेलमा जस्तो लय प्रदर्शन गर्न नसक्दा लिगको अन्तिम खेलअगावै विजेता र उपविजेता होडबाट बाहिरिएका थिए। लिगमा आरसिटीले ९ अंक जोड्यो। श्री भगवती ६ अंक जोडेर उपविजेता बन्यो। 

सम्पन्न लिगमा सातदोबोटो युथ क्लबका वीरेन्द्र लिम्बु उत्कृष्ट फरवार्ड घोषित हुँदा, श्री भगवतीका दर्शन गुरुङ उत्कृष्ट मिडफिल्डर, आरसिटीका लोकेन्द्रबहादुर कार्की उत्कृष्ट रक्षक, टुसाल युथका विनोद सोडारी उत्कृष्ट गोलकिपर र च्याम्पियन आसिटीका प्रशिक्षक बैजु कपाली उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्ट सबैले नगद २५ हजार रुपैयाँ प्राप्त गरे। एन्फाले सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरी आयोजना गरिएको प्रतियोगितामा दुई समूहका शीर्ष दुई टोली दोस्रो चरण प्रवेश गरेका थिए। 

 

प्रकाशित: २२ फाल्गुन २०७५ ००:१० बुधबार

‘बी’_डिभिजन_लिग आरसिटी एन्फा च्याम्पियन