खेल

आहा रारा गोल्डकपको उपाधि थ्री स्टारलाई

काठमाडाैं - आर्मीलाई सडन डेथमा पराजित गर्दै दुई पटक पछि परेको अवस्थालाई उल्ट्याएर रुस्लान थ्री स्टार क्लबले १७औं संस्करणको आहा रारा गोल्डकप उपाधि उचाल्यो।

निर्धारित र थपिएको समय २–२ ले बराबरी भएपछि शनिबारको फाइनल टाइब्रेकरमा पुग्यो। टाइब्रेकरमा दुवै टोलीबाट ४–४ गोल भएपछि निर्णयका लागि सडन डेथको विकल्प भएन। सडन डेथमा थ्री स्टारका मिचेन तामाङको पेनाल्टी गोल भएसँगै आर्मीका विकास खवासको पेनाल्टीलाई थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले बचाएपछि उपाधि थ्री स्टारको पोल्टामा पुग्यो।

सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगिताको पाँचौ, नवौं, ११औं र १३औं संस्करणको उपाधि उचालिसकेको थ्री स्टारले गत वर्ष उपविजेता हुदाँको पीडालाई यस पटक फेरि पोखराकै मैदानमै बिर्सायो। गत वर्ष थ्री स्टार नेपाल पुलिस क्लबसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो। 

पेनाल्टी सुटआउटमा आर्मीका लागि विकेश कुथुको प्रहारलाई एलन न्यौपानेले सेभ गरे। थ्री स्टारका सुशील राईकोे पेनाल्टी क्रस बारमा लागेर फर्किएपछि निर्णय सडन डेथमा पुगेको थियो। त्यसभन्दा अघि आर्मीका लागि भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरे। थ्री स्टारका तर्फबाट रञ्जित धिमाल, रूपेश केसी, विक्रम लामा र अनन्त तामाङका प्रहारले जाली चुमेका थिए। 

प्रतियोगिताको विजेता थ्री स्टारले  ८ लाख १ हजार, उपविजेता आर्मीले ४ लाख १ हजारका साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे।   

यसअघि खेलको पाँचाैं मिनेटमा गोल गर्दै आर्मीले थ्री स्टारविरुद्ध अग्रता लिएको थियो। दीपक गुरुङको लामो क्रसलाई टेकबहादुर बुढाथोकीले हेडिङ गर्दा फस्ट बारबाट भित्र छिरेपछि आर्मीले खुसीयालाी मनायो। तर उनै दीपक गुरुङको ह्यान्ड भएपछि पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टी पाएको थ्री स्टारले खेल बराबरी ग¥यो। रञ्जित धिमालले पेनाल्टीमा गोल गरे। 

निर्धारित समयपछि ३० मिनेटको समय थपियो। थपिएको समयको पहिलो हाफको अन्तिम मिनेटमा आर्मीले फेरि अग्रता लियो। १५औं मिनेटमा आर्मीका सन्तोष तामाङले हानेको फ्रिकिकलाई थ्री स्टारका कप्तान विक्रम लामाले हेड टच गर्दै गोल गरे। तर थपिएको २२औं मिनेटमा थ्री स्टारले पाएको फ्रिकिकमा गोल गर्दै आर्मीमाथि दबाब बनाइराख्यो। रञ्जित धिमालको फ्रिकिक फरवार्ड अजयी मार्टिनले फ्लिक हेड गर्दा क्रसबारमा ठोक्किँदै भित्र छिरेको थियो। बराबरी गोल गर्नुअघि रुस्लान थ्री स्टार भने भरपर्दा खेलाडी सुनील बललाई रातो कार्डका कारण गुमाउँदै दश खेलाडीमा सीमित भएको थियो। 

प्रतियोगितामा सर्वाधिक गोलकर्ताको पुरस्कार थ्री स्टारका अनिल गुरुङ भए। उनले २५ हजार रुपैयाँ प्राप्त गरे। एपिएफले  फेयर प्लेको ट्रफीसहित नगद १० हजार रुपैयाँ पायो। उत्कृष्ट खेलाडी घोषित थ्री स्टारका गोलकिपर एलन न्यौपानेले अप्रिला स्कुटर पाए। उत्कृष्ट स्ट्राइकर आर्मीका नवयुग श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर आर्मीकै सन्तोष तामाङ, उत्कृष्ट डिफेन्डर आर्मीकै विमल पाण्डे, उत्कृष्ट गोलकिपर थ्री स्टारका एलन न्यौपाने र उत्कृष्ट प्रशिक्षक थ्री स्टारका मेघराज केसीलाई नगद १५÷१५ हजारसहित ट्रफी प्रदान गरियो। प्रतियोगिताको विजेता थ्री स्टारले  ८ लाख १ हजार, उपविजेता आर्मीले ४ लाख १ हजारका साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे।   

प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङ, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितालाई डेढ दशकदेखि हिमश्री फुड्सले मुख्य प्रायोजन गर्दै आएको छ। 

गम्भीर लापरबाही 
आर्मी र अफिसियलले थ्री स्टारसितको फाइनलमा गम्भीर त्रुटि गरेका छन्। अतिरिक्त समयको दोस्रो हाफको फ्रिकिक हान्नु अघि आर्मीले गल्ती गर्याे। प्लेयिङ लिस्टमा नभएका प्लेयरलाई मैदानमा उतारेपछि आर्मी दश खेलाडीमा सीमित हुन पुग्यो। नन प्लेयिङको सूचीमा रहेका आशिष शाक्यलाई मैदान छिराएपछि रुस्लान थ्री स्टारले विरोध ग¥यो। उनी सेसाङ आङदेम्बेको स्थानमा ९१औं मिनेटमा मैदान छिरेका थिए। थ्री स्टारको विरोधपछि रेफ्री सुदेश पाण्डेले उनलाई कप्तान भरत खवाससँगको छलफलपछि मैदानबाहिर पठाएका थिए। 

प्रकाशित: १८ फाल्गुन २०७५ १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App