खेल

तेक्वान्दोकी मेलिसाले हङकङमा चुनौती प्रस्तुत गर्ने

काठमाडौं – मेलिसा खड्गीले हङकङमा हुने दसौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा चुनौती प्रस्तुत गर्ने भएकी छन्। टप माउन्टेन तेक्वान्दो फेडेरेसन हङकङको निमन्त्रणामा मेलिसाले हङकङ हुने च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्न लागेकी हुन्।

मार्च ३ र ४ तारिखमा हुने प्रतियोगितामा मेलिसाले महिला एकल पुम्सेमा नेपालको तर्फतबाट प्रतिस्पर्धा गदैछिन्। त्यसका लागि सहभागी हुन मेलिसा आगामी शनिबार हङकङ प्रस्थान गर्नेछिन्।

यसअघि मेलिसाले उक्त प्रतियोगिताको सातौं र नवौं संस्करणमा नेपाललाई स्वर्ण पदक दिलाइसकेकी छन्। त्यत्तिबेला मेलिसाले ग्योरोगीको ४५ केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी थिइन्। प्रशिक्षकमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका सहायक प्रशिक्षक मनोज खड्गी छन्। मनोज मेलिसाका पीतासमेत हुन्।

शनिबार जाने टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे। सोही अवसरमा सदस्यसचिव बिष्टले आफ्नै घरबाट खेलाडी उत्पादन गर्नु अन्यका लागि ठूलो उत्प्रेरणा रहेको बताएका थिए। 

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०४:५५ बिहीबार

मेलिसा_खड्गी हङकङ अन्तर्राष्ट्रिय_तेक्वान्दो_च्याम्पिनसिप