खेल

प्यारापिट नहुँदा घट्यो फुटबलको मोह

पोखरा – पोखरा रंगशालाको प्यारापिट भत्काइएको १४ महिना बितिसकेको छ। दर्शक र भिआइपी प्यारापिट रहेको ठाउँमा नयाँ जगसमेत बसिसकेको छैन। जहाँ दर्शक प्यारापिटमा ४ हजार र भिआइपिमा ५ सय मानिस अटाउँथे। वि.सं. २०४० सालमा बनाइए दुवै गतवर्षको माघमा भत्काइएको थियो। 

जुन अहिलेसम्म पनि धुलाम्मे छ। सोही प्यारापिट नहुँदा दर्शकलाई फुटबलको मोह घटेको प्रत्यक्ष देखिएको छ। त्यसको उदाहरण हो, आहा रारा गोल्डकपमा दर्शकको उपस्थिति विगतको भन्दा कम हुनु। प्यारापिटले फुटबलको माहोल जमाएको थियो, जुन पछिल्ला प्रतियोगितामा घट्दै छन्।

यो वर्ष एक महिनाको बीचमा दुई ठूला प्रतियोगिता भए। तर, दर्शकको उपस्थिति भने निकै कम संख्यामा छ। निरन्तर प्रतियोगिताले पनि फुटबलको मोह केही घटेको आभाष पक्कै हो। पुर्वाधार नहँुदाको पीडा दर्शकले भोगेकै छन्। आयोजकले पनि दर्शकको उपस्थितिमा देखिएको खडेरीले त्यति लाभदायकको अनुमान गर्न सक्नेस्थिति देखिँदैन। 

‘नियमित प्रतियोगिता चलिरहेको छ। तर, पुर्वाधार छैन। पैसा तिरेर दर्शक चिसो भुइमा बसेर फुटबल हेर्दैनन् ,’ कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ भने,‘फुटबलमा मात्रै होइन, पछिल्लो समय मेला र महोत्सवमा पनि दर्शकको उपस्थिति त्यति देखिँदैन।’ उनको ठम्याइअनुसार प्रतियोगितामा खेल तालिका छैनन्। 

पुर्वाधार नहुनुका साथै दर्शकको उपस्थिति न्युन भएकाले पछिल्ला प्रतियोगितामा रौनकता घट्दै गएको छ। धुलाम्मे मैदानमा खेलाडी खेल्न बाध्य छन् भने प्यारापिट नहुँदा दर्शकलाई फुटबलको मोह घटेको प्रत्यक्ष देखिएको छ।

तालिका नहुँदा दर्शकले आफ्नो समर्थक टिमको खेल कहिले हुन्छ यकिनै गर्न सकेका छैनन्। त्यसको प्रत्यक्ष असर फुटबलमा देखिएको उनको अनुमान छ।  मोफसलमा नकाउट फुटबल प्रतियोगिता चलिरहेकै छ। एक ठाउँबाट पराजित टोली भोलीपल्टै अर्को शहरमा खेल्न पुग्नुपर्ने बाध्यता यो वर्ष छ। कुन टिम कता खेलेर पोखरा आइपुग्छ भन्ने ठम्याउान सकिएको छैन। 

पराजित टिम ल्याउँदै खेलाउनुपर्ने पीडा आयोजकसँग हुँदा खेल तालिका बनाउन नसक्नु आपैंmमा अर्को विडम्बना हो। दर्शक नआउनुको त्यो पनि एक कारण भएको अध्यक्ष गुरुङ सुनाउँदै थप्छन,‘भौतिक पुर्वाधार पनि छैन। त्यसको असर झनै बढी देखिएको छ।’ दर्शकले मन पराएको टिम हार्दा नैरास्यता पैदासमेत भएको छ। 

कास्की जिल्ला फुटबल संघले पनि दुइ साता अघि मात्रै मनकामना केबलकार पोखरा कपलाई टुंग्यायो। बाह्रदिने प्रतियोगिता टुंग्याउँदा दर्शकको उपस्थिति भने विगतको वर्षमा भन्दा कम देखिएको थियो। पोखरामा फुटबलका दर्शकको खासै कमि हुँदैनन्। ‘माघको मौसम त्यति उपयुक्त देखिएन्नँ। त्यसमा पनि प्यारापिट छैनन्। पैसा तिरेर दर्शकले चिसो भुइमा बसेर पक्कै फुटबल हेर्न आउँदैनन्। त्यही नियति हामीले भोग्यौं,’ जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ भन्छन्,‘अस्थायी प्यारापिट बनाएर पनि दर्शकलाई सुविधा दिने योजना बनायौं। तर पनि प्रभावकारिता देखिँएन।’ 

स्तरीय टिमले दर्शक तान्ने अपेक्षा गरिएपछि पुर्वाधारको अभावले खल्लो भएको गुरुङको बुझाई छ। ‘दर्शक त छन् तर विगतको भन्दा आधा,’ अध्यक्ष गुरुङ भन्छन्। सहारा क्लबले १७औं संस्करणको आहा रारा गोल्डकपलाई बिट मार्ने संघारमा छ। व्यवस्थित मैदान भएकाले पैसा तिरेर आउने दर्शक भुइमा बस्न चाहँदैनन्। 

एकै प्रकृतिको फुटबल प्रतियोगिता भइरहेका छन्। फरक केही छैनन्। दर्शकमा पनि उत्सुकता देखिँदैन। कुनै समय आहा गोल्डकपमा दर्शकको संख्या अनुमानित २२ हजारसम्मको आँकडा सहारा क्लबसँग छ। 

‘रंगशालामा दर्शकको लागि शौचालयसमेत छैनन्। त्यसमा अझ महिलाको लागि झनै समस्या छ। दर्शकको मानसिकता नै भुँईमा बसेर हेर्नुपर्छ भन्ने छ,’ सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकाली भन्छन्,‘त्यसमा पनि अझ सहाराले रंगशाला दिने हो कि होइन भन्ने चिन्ता थपिएको छ।’नयाँ पुर्वाधार निर्माणको लागि ठेकेदार कम्पनीले माटो परीक्षणसँगै पुर्वाधारको काम थाल्ने संकेत गरेपछि केही प्रतियोगिता अन्यौलमा परेको थियो। 

आहा रारा गोल्डकपमा दर्शकको उपस्थिति न्युन हुनु र पुर्वाधार नहुनुले नै प्रतियोगिताको रौनक घटेको क्लबको दाबी छ। तर थकालीले त्यतिलाई मात्रै दोष दिन चाहन्नन्। प्रचारप्रसारमा समेत कमी भएको औंल्याएका छन्। अस्थायी प्यारापिट बनाएर दर्शकलाई सुविधा दिइएपछि खर्चिलो बन्न पुग्दा आयोजकलाई आर्थिक भार थपिएको छ। 

प्रकाशित: १६ फाल्गुन २०७५ ०४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App