खेल

स्पेनमा रोशन र सुनीललाई पदक

विजेता सुनील मल्ल ठकुरी।

काठमाडौं - स्पेनमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा सुनील मल्ल ठकुरी र रोशन आचार्यले नेपाललाई दुई पदक दिलाएका छन्।

सोमबार स्पेनको भ्यालेन्सियास्थित अलमसेरा स्पोर्ट्स सेन्टरमा भएको खेलमा सुनीलले फाइटतर्फ स्वर्ण पदक दिलाएको नेपाली टोलीका प्रशिक्षक अभिषेक मल्लले जानकारी दिए। फाइटमा नै रोशनले भने कांस्य पदक जित्न सफल भए। स्पेन ट्रेडिसनल तेक्वान्दो फेडेरेसनको आयोजनामा भएको खेलमा सुनीलले पुरुष ६३ केजीको फाइनलमा स्पेनका भिक्टर मार्टिन पेरेजलाई स्तब्ध बनाउँदै स्वर्ण जित्न सफल भएको प्रशिक्षक अभिषेकले जानकारी दिए। 

उनले त्यसअघि सेमिफाइनलमा भने अफगानिस्तानका अहमद जावेद नाविजादालाई हराउँदै स्वर्ण पदकको भिडन्त तय गरेका थिए। नेपालका रोशनले फाइटतर्पm पुरुष ५३ केजीको पहिलो खेलमा चीनका जियान हाउ झिउमाथि जित रचेका थिए। त्यसपछिको क्वार्टरफाइनल खेलमा भने रोशनले अफगानिस्तानका हेदायातुल्लाह उस्मानीलाई स्तब्ध बनाउँदै कांस्य पदक पक्का गरे। 

तर, सेमिफाइनलमा इटालीका अर्टिअम प्रोकासँग पराजित भएपछि कांस्य पदकमै सीमित भए। सोही च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गरेका नेपालका प्रशिक्षकसमेत अभिषेक मल्लले बेस्ट रेफ्रीको समेत अवार्ड हात पार्न सफल भए।

प्रकाशित: १३ फाल्गुन २०७५ ११:३५ सोमबार

मार्सल_आर्ट्स स्पेन पदक