खेल

डीपीएल फाइनलमा महेन्द्रनगर र अत्तरीया भिड्ने, उपाधि जित्ने दुवैको दाबी

काडमाडाैं - तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधिका लागि महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरीया भिड्ने भएका छन्। उपाधि भिडन्त शनिबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ। दुवै टोली पहिलोपल्ट फाइनलमा प्रतिष्पर्धा गरिरहेका छन्।

काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै अत्तरीया प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो भने महेन्द्रनगरले इलिमिनेटरमा रुपन्देहीलाई पराजित गर्दै दोस्रो क्वालिफायर प्रवेश गरेको थियो। तर, दोस्रो क्वालिफायरमा काठमाडौंले प्रतियोगिता वहिष्कार गरेपछि महेन्द्रनगर फाइनल प्रवेश गरेको हो। महेन्द्रनगरको टोली शरद भेष्वाकरको कप्तानीमा रहेको छ भने अत्तरीया दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको छ।

उपाधि भिडन्तका लागि मैदान प्रवेश गर्दा दुवै टोलीले आफू च्याम्पियन बन्ने दाबी गरेका छन्। शुक्रबार भएको प्रि-म्याच कन्फरेन्समा दुवै टोलीका कप्तानले उपाधि जित्ने दाबी गरेका हुन्। 'जुन लक्ष्य लिएर आएका थियौं। अहिलेसम्म पुरा हुँदै आएको छ। अब एक खेल बाँकी छ,’ महेन्द्रनगरका कप्तान शरदले भने, 'योजना सामान्य छ। राम्रो क्रिकेट खेलिरहेका छौँ। हामी फाइनलमा सफल हुनेमा ढुक्क छौं। ट्रफी जित्ने छौं।' 

अत्तरीयाले प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेको भएपनि कप्तान शरद च्याम्पियन टोलीलाई हराएर च्याम्पियन बन्ने दाबी गर्छन। 'उनीहरुले उत्कृष्ट खेलिरहेकोमा कुनै दुविधा छैन। तर, च्याम्पियन बन्न च्याम्पियन टिमलाई हराउनुपर्छ। फाइनल जित्न दुवै टोलीलाई प्रेसर हुन्छ। जसले राम्रो खेल्छ उसले जित्छ। हाम्रो टिमले सही समयमा सही प्रदर्शन गरिरहेको छ। भोलीको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ,’ कप्तान शरदले भने।

यता अत्तरीयालाईसमेत पहिलो पटक डीपीएलको ट्रफी उचाल्ने मौका रहेको छ। कप्तान दिपेन्द्र आफ्नो कप्तानीमा पहिलो पटक टिमलाई उपाधि दिलाउन चाहन्छन्। 'हामीले जसरी क्रिकेट खेलिरहेका छौँ त्यसलाई फोकस गरेर अन्तिम खेल खेल्नेछौं,' कप्तान दिपेन्द्रले भने, 'फाइनलमा दबाब लिएर खेल्ने छैनौं। हामी जसरी खेलिरहेका छौं त्यसरी हेर्दा हामी फाइनल जित्छौ।' महेन्द्रनगर विरुद्ध अत्तरीयालाई समूह चरणमा व्यहोरेको हारको बदला लिने अवसर समेत हुनेछ। समूह चरणमा अत्तरीया महेन्द्रनगरसँग ७ विकेटले पराजित भएको थियो।

प्रकाशित: १० फाल्गुन २०७५ १२:३५ शुक्रबार

डीपीएल फाइनल महेन्द्रनगर_युनाइटेड सिवाइसी_अत्तरीया