खेल

नेपाली युवा टोलीको फराकिलो जित, अभिषेकको ह्याट्रिक

काठमाडौं – समूहचरणको आफ्नो दोस्रो खेलमा नेपालको यु–२१ फुटबल टोलीले भारतमा जारी दोस्रो डाक्टर टिएओ नर्थ इस्ट इन्टरनेसनल यु–२१ गोल्डकप प्रतियोगितामा भारतको टोली त्रिपुरामाथि बिहीबार ८–० को फराकिलो जित निकालेको छ।

खेलको सुरुआतबाट नै उत्कृष्ट प्रदर्शन गरेको नेपालका लागि फराकिलो जित निकाल्नका लागि अभिषेक रिजालले ह्याट्रिक गरे। पहिलो खेलमा पराजित भएपछि गोलकिपर र फरवार्डमा परिवर्तन गर्दै मैदान उत्रिएको नेपालले चौथो मिनेटमा नै अग्रता लिन सफल भएको थियो। प्रिजेन तामाङले नितिन थापाको पासलाई सदुपयोग गर्दै चौथो मिनेटमा नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। एकपछि अर्को आक्रमणको प्रयास गरेको नेपालले ३१औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाएका थिए।

पहिलो हाफको अग्रतापछि उच्च मनोबलमा रहेको नेपाली टोलीले दोस्रो हाफमा अझै सुधारिएको खेल प्रदर्शन गर्न सफल भयो। दोस्रो हाफमा स्ट्राइकर अभिषेक रिजालले उत्कृष्ट प्रदर्शन गर्न सफल भए। ५२औं मिनेटमा गोल गर्दै अभिषेकले टोलीका लागि तेस्रो गोल गर्दै नेपालको अग्रता ३–० मा पुर्याए। ६७औं मिनेटमा प्रिजेनले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई थप दबाब दिए।

६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका अभिषेकले ६९औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए। धीरज श्रेष्ठले ७७औं मिनेटमा नेपालका लागि सातौं गोल गर्दै अग्रता अझै फराकिलो पारे। लगत्तै अर्को मिनेटमा अभिषेकले व्यक्तिगत चौथो गोल गर्दै नेपाली युवा टोलीको अग्रता ८–० मा पुर्याए। बाँकी समयमा घरेलु टोली त्रिपुरा खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र नतिजा सुम्पिन बाध्य भयो।

दोस्रो खेलमा जित निकालेको नेपाली टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले टोलीको मिहिनेतले गर्दा फराकिलो जित सम्भव भएको प्रतिक्रिया दिए।

‘पहिलो खेलमा पराजय भोगेका हामीले दोस्रो खेलमा दुई खेलाडी परिवर्तन गर्दै आजको खेलमा उत्रिएका थियो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘परिवर्तन गरेको रणनीति सफल भयो। समग्रतामा सबै खेलाडीले शतप्रतिशत इफोर्ट लगाएर खेले। त्यसैले सहज जित निकाल्न सफल भयौं।’

यसअघि बुधबार सम्पन्न भएको पहिलो खेलमा नेपाली युवा टोली मेघालयसँग पराजित भएपछि मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले त्रिपुराविरुद्ध प्लेइङ सेटमा दुई खेलाडीलाई परिवर्तन गरेका थिए। उनले गोलकिपरमा विष्णुकुमार केसी र स्ट्राइकरमा प्रिजेन तामाङलाई मौका दिएका थिए। प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा शनिबार मणिपुरसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १० फाल्गुन २०७५ ०४:१८ शुक्रबार

नेपाली_युवा_टोली भारत यु–२१_गोल्डकप फराकिलो_जित अभिषेक_रिजाल