खेल

फुटबलका नयाँ प्रशिक्षक आए

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले गत माघ ३ गते निर्णय गर्दै नियुक्त गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक स्विडेनका योहान कालिन बिहीबार नेपाली टोली सम्हाल्न काठमाडौं आएका छन्।

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि योहान राष्ट्रिय टोली सम्हाल्न बिहीबार नेपाली विमानस्थलमा ओर्लिएका हुन्। योहानलाई दुई वर्षका लागि एन्फाले अघिल्लो महिना नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। सम्झौताअनुसार योहानले  २०१९ मार्च १ बाट २०२१ फेब्रुअरी २८ सम्म नेपाली टोलीलाई सम्हाल्नेछन्।

यसअघिका जापानी प्रशिक्षक ग्यातुको कोजी प्रवेशाज्ञाका कारण नेपाल आउन नपाउने भएपछि एन्फाले नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाएको थियो। पर्यटकीय भिसामा नेपालमा काम गरेका कोजीको श्रम स्वीकृति प्रक्रिया एन्फाले अघि नबढाउँदा उनले पर्यटकीय प्रवेशाज्ञामा नेपालमा काम गर्दै आएका थिए।

यसअघि योहानले २०७० सालमा ‘ए’ डिभिजन क्लब मच्छिन्द्रको मुख्य प्रशिक्षकका रूपमा काम गरेका थिए। योहानको नेतृत्वमा मच्छिन्द्रले २०७० सालमा ‘ए’ डिभिजन लिग दोस्रो स्थानमा रहेर लिगको समापन गरेको थियो। योहानले स्विडेनको तेस्रो डिभिजन क्लबबाट व्यावसायिक प्रशिक्षण सुरु गरेका थिए।

नेपाली फुटबललाई अघि बढाउन र साफ च्याम्पियनसिपको लक्ष्यलाई मध्यनजर राख्दै एन्फाले नेपाली फुटबल टिमको जिम्मेवारी योहानलाई दिन लागेको हो।

बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका योहानलाई एन्फाका अन्तर्राष्ट्रिय विभाग प्रमुख नवीन पाँडे र कार्यसमिति सदस्य दावा लामालगायतले  स्वागत गरेका थिए।

प्रकाशित: १० फाल्गुन २०७५ ०२:१७ शुक्रबार

फुटबल मुख्य_प्रशिक्षक योहान_कालिन नेपाल