खेल

च्याम्पियन्स लिग : साल्केको मैदानमा म्यानचेष्टर सिटीको कठिन जित

काठमाडौं – च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब एफसी साल्केमाथि इङ्लिस क्लब म्यानचेष्टर सिटीले ३–२ को जित निकालेको छ।

साल्केको घरेलु मैदानमा बुधबार राति सम्पन्न खेलमा १० खेलाडीमा सीमित सिटीले साल्केलाई पराजित गरेको हो। सिटीको जितमा सर्जियो अग्वुइरो, लिरोइ साने र रहिम स्ट्रर्लिङले गोल गरे। खेलको १८ औं मिनेटमा अग्वुइराको गोलमा सिटीले अग्रता बनाएको थियो।

तर, ३८ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै साल्केका बेन्टालेबले खेल बराबरीमा ल्याएका थिए। ४५ औं मिनेटमा सिटीका खेलाडीले डिबक्सभित्र खेलाडीलाई लडाएपछि साल्केले फेरि  पेनाल्टी पायो। जसमा बेन्टालेबले पुनः गोल गर्दै टोलीलाई अग्रता दिलाए।

पहिलो हाफमा २–१ ले पछि परेको सिटीका लागि निकोलस ओटामेन्डी ६८ औं मिनेटमा दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि सिटी १० खेलाडीमा झरेको थियो। तर, ८५ औं मिनेटमा सब्स्टिच्यूड खेलाडीका रुपमा मैदान प्रवेश गरेका सानेले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यस्तै, ९० औं मिनेटमा स्ट्रर्लिङले निर्णायक गोल गर्दा सिटीले साल्केमाथि ३–१ को कठिन जित निकाल्दै अघिल्लो चरणको सम्भावना बलियो बनायो। दोस्रो लेग १२ मार्चमा सिटीको मैदानमा हुनेछ।

प्रकाशित: ९ फाल्गुन २०७५ ०५:४८ बिहीबार

च्याम्पियन्स_लिग फुटबल म्यानचेष्टर_सिटी कठिन_जित साल्के