खेल

विक्रम च्याम्पियन

सातौं राष्ट्रिय कायक स्लालोम च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै राजिप त्रिपाठी। तस्बिर: अनिल/ नागरिक

चितवन –  चितवनका विक्रम गुरुङ सातौं राष्ट्रिय कायक स्लालोम च्याम्पियनसिपमा पहिलो भएका छन्।

नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा चितवनको फिस्लिङस्थित मंगलबारदेखि सुरु भएको कायक स्लालोममा विक्रम च्याम्पियन भएका हुन्। बुधबार सम्पन्न एक किलोमिटर दूरीमा भएको कायक स्लालोममा विक्रम १.२५ अंकका साथ पहिलो भए। दोस्रो भएका  सिन्धुपाल्चोकका सुर्जन तामाङले ८५.९५ अंक ल्याए। तेस्रो स्थानमा रहेका गोर्खाका रमेश गुरुङले ८७.२५ र चौथो स्थानमा सीमित कुरिनटार राजिप त्रिपाठीले ८७.५ अंक प्राप्त गरे।

तेस्रो राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप तथा सातौं राष्ट्रिय कायक स्लालोम च्याम्पियनसिप मंगलबारदेखि सुरु भएको थियो। र्‍याफ्टिङअन्तर्गत तीन विधा स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभर हुने संघका अध्यक्ष मानबहादुर न्यौपानेले जानकारी दिए। यही तीन विधाबाट ओभरअल टिम च्याम्पियन घोषणा गरिने न्यौपानेले जानकारी दिए। ओभरअलका खेल भने बिहीबार हुनेछन्। 

बुधबारको र्‍याफ्टिङ हेड टु हेडमा नेपाल कायक एन्ड क्लब फिस्लिङ ‘ए’ २ सय अंकको पूर्णाङ्कमा शतप्रतिशत नतिजा निकाल्दै पहिलो भयो। कायक एन्ड क्लब फिस्लिङ ‘ए’ ले कास्कीको प्याडल नेपाल ‘बी’ लाई २४ अंकले पछि पार्‍यो। प्याडल नेपालले १ सय ७६ र तेस्रो भएको नेपाल कायक एन्ड क्लब फिस्लिङ ‘बी’ ले १ सय ५८ अंक प्राप्त गर्‍यो। नेपाल आर्मी १४ अंकले पछि पदै चौथोमै खुम्चियो। 

त्यस्तै र्‍याफ्टिङ स्प्रिन्ट पनि हेड टु हेडकै शीर्ष तीनले सोही नतिजा दोहोर्‍याए। एक किलोमिटरको दूरीमा नेपाल कायक एन्ड क्लब फिस्लिङ ‘ए’ ले १ मिनेट ५६ सेकेन्ड, प्याडल नेपाल ‘बी’ ले १ मिनेट ५७ सेकेन्ड र नेपाल कायक एन्ड क्लब फिस्लिङ ‘बी’ ले १ मिनेट ५९ सेकेन्डका साथ शीर्ष तीनमा रहे। 

बिहीबार तथा अन्तिम दिन र्‍याफ्टिङ विधातर्फत स्लालोम र डाउन रिभर रेसका खेल हुने प्रतियोगिताका निर्णायक सुदीप गौतमले जानकारी दिए। 

प्रकाशित: ९ फाल्गुन २०७५ ०२:१९ बिहीबार

चितवन कायक_स्लालोम विक्रम_गुरुङ च्याम्पियन