खेल

चेल्सीलाई स्तब्ध पार्दै म्यानचेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

काठमाडौंं – चेल्सीलाई स्तब्ध पार्दै म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति चेल्सीको घरेलु मैदानमा सम्पन्न खेलमा मिडफिल्डर पाउल पोग्बाको उत्कृष्ट प्रदर्शनमा युनाइटेडले चेल्सीलाई २–० ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो। 

पोग्बाले १ गोल र १ असिस्ट गरेका थिए। खेलको ३१ औं मिनेटमा पोग्बाको पासलाई सदुपयोग गर्दै हेरेराले हेडमार्फत गोल गरेपछि युनाइटेडले खेलमा अग्रता बनाएको थियो।  त्यस्तै ४५ औं मिनेटमा मार्कुस रास्फोर्डको क्रसमा पोग्बाले हेडमार्फत नै टिमका लागि दोस्रो गोल गरे।

पहिलो हाफमा २–० ले पछि परेको चेल्सीले दोस्रो हाफमा गोल गर्न सकेन र प्रतियोगिताबाट बाहिरियो।  यसै हप्ता च्याम्पियन्स लिगमा पिएसजीसँग हारेको युनाइटेडले चेल्सीविरुद्ध भने उत्कृष्ट प्रदर्शन गरेको थियो। युनाइटेडसँगको हारले चेल्सीको प्रशिक्षक माउरीजीयो सारीको पद भने झन दबाबमा परेको छ। यो हारपछि चेल्सीले पछिल्ला १० खेलमा ५ खेलमा हार ब्यहोरेको छ।

प्रकाशित: ७ फाल्गुन २०७५ ०५:३८ मंगलबार

म्यानचेष्टर_युनाइटेड एफए_कप क्वाटरफाइनल चेल्सी