खेल

अन्तिम खेलमा समेत हार्‍याे डिफेन्डिङ च्याम्पियन धनगढी

काठमाडाैं - धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत आफ्नो अन्तिम खेलमा समेत धनगढी स्टार्स पराजित भएको छ। अन्तिम खेलमा पराजयसँगै गत सिजनको च्याम्पियन यो सिजन जितविहीन हुँदै समूह चरणबाटै वाहिरिएको हो।

सोमबारको पहिलो खेलमा धनगढी रुपन्देही च्यालेन्जर्ससँग ३९ रनले पराजित हुन पुग्यो। सान्त्वना जितको खोजीमा रहेको धनगढी १ सय ७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा १४ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनमा खुम्चिन पुग्यो।

धनगढीका पवन सर्राफले सर्वाधिक १५ रन जोडे। यस्तै कप्तान सोमपाल कामीले ११ तथा सन्दीप रजालीले १० रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन्। धनगढीका रोहन मुस्तफा २, सुनिल धमला ४, राजु रिजाल ५, अमिर हयात ८ रनमा आउट भए। धनगढीलाई सस्तैमा समेट्ने क्रममा रुपन्देहीका ललित भण्डारीले ३ तथा विक्रम शोवले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले सुमित महर्जनको सर्वाधिक ३३ रनको योगदानमा १ सय ६ रन जोडेको थियो। रुपन्देहीले समेत ब्याटिङमा उल्लेख्य प्रदर्शन गर्न सकेन। रुपन्देही १५ ओभरमै आफ्ना सम्पूर्ण विकेट गुमाउँदै १ सय ६ रनमा समेटिएको थियो। रुपन्देहीलाई सस्तैमा समेट्न धनगढीका सोमपाल कामी, विपिन खत्री र पवन सर्राफले समान २/२ विकेट लिए।

जितसँगै रुपन्देही ५ खेलबाट ६ अंक जाेड्दै अघिल्लो चरण प्रवेश गरेको छ भने धनगढीले समान खेलबाट १ अंक जाेडेकाे छ। वर्षाका कारण एक खेल हुन नसकेपछि धनगढीले एक अंक पाएकाे थियाे। धनगढी अन्तिम खेल अघि नै प्रतियोगिताबाट वाहिरी सकेको थियो।

प्रकाशित: ६ फाल्गुन २०७५ ०९:१६ सोमबार

डीपीएल धनगढी_स्टार्स रुपन्देही_च्यालेन्जर्स